पाेखरामा पर्यटन क्षेत्रका २ सय मजदुरलाई १० दिनको काम

पाेखरा न्यूज । कोभिडका कारण पोखरासहित सबै क्षेत्रको पर्यटन थला परेको छ । पर्यटन मजदुरहरू पेशाबाट पलायन हुने अवस्थामा पुगेका छन् । व्यवसायीहरूसमेत गरिरहेको व्यवसायबाट हात झिक्ने अवस्थामा छन् ।

एउटा तथ्यांकअनुसार पाेखराका करिब ३० प्रतिशत व्यवसायीले व्यवसाय छोडिसकेका छन् भने ६० प्रतिशत मजदुरले पेशा परिवर्तन गरेका छन् । अब पर्यटन क्षेत्र खुल्दा मजदुर र व्यवसायी पाउन मुश्किल हुने देखिएकाे छ ।

भएका मजदुरहरूलाई जोगाउन ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले अल्पकालीन रोजगार कार्यक्रम शुरु गरेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न २ सय पदयात्रा मजदुरहरूलाई १० दिनको लागि रोजगार कार्यक्रम शुरु गरिएको हो ।

उनीहरूले नौडाँडा, कास्कीकोट सराङकोट, मेथलाङ, जरेवर पदमार्ग मर्मतसंम्भार तथा सरसफाई गरेका छन् । मजदुरको जीविकोपार्जन र पुनरुत्थानका लागि पर्यटन परियोजनाअन्तर्गत कोभिड १९ ले प्रभावित मजदुरलाई कामका आधारमा राहत उपलब्ध गराएको हो । उनीहरूले पदमार्गहरूको मर्मत सम्भार गरी पदयात्रा व्यवसायलाई चलायामान गराउने जिम्मा पाएका छन् ।

नेपालको पर्यटन विकासको लागि पदयात्रा पदमार्गहरूको महत्व उच्च रहेकोले त्यसैबाट पुनरुत्थान हुन सक्ने टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले बताउनुभएकाे छ ।

२७ सेप्टेम्वरमा पर्ने विश्व पर्यटन दिवसमा कास्कीकोट पदमार्गमा बिभिन्न देशका कुटनैतिक नियोगका प्रतिनिधीहरू ल्याएर पदयात्रा गराउने कार्यक्रम टानकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button