पुम्दीकोट विशाल महादेवको मूर्ति स्थलसम्मको बाटो पिच हुन्छ – मन्त्री बराल

पोखरा न्यूज ।  गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले  पुम्दीकोट विशाल महादेवको मूर्ति स्थलसम्म जाने सडक स्तरोन्नति हुने बताउनु भएको छ । गण्डकी प्रदेशको गौरवको योजना अन्तर्गत पर्ने उक्त स्थलसम्म पुग्ने सडक हाल निकै जीर्ण भएको भन्दै उहाँले तत्काल उक्त सडक स्तरोन्नति गरिने  बताउनुभएको हो  ।

‘गण्डकी प्रदेशको गौरवको योजना भित्रको स्थलमा पुग्ने बाटो विशेष गरी पोखरा २२ (पुम्दी भुम्दी) को वडा कार्यालयदेखि विशाल महादेवको मूर्ति स्थलसम्म तत्काल स्तरोन्नति गर्न स्थानीयको मात्र नभई घुम्न आउने पर्यटकको समेत दबाब आएको छ’, मन्त्री बरालले भन्नुभयो, ‘उक्त सडक स्तरोन्नति गर्न आवश्यक प्रक्रिया अघि बढाइनेछ ।’

पोखरा २२ को पुम्दीकोट टोल विकास संस्था र ढले पिपल टोल विकास संस्थाले बुधबार संयुक्त रूपमा आयोजना गरेको  शुभकामना आदान प्रदान तथा  सम्मान कार्यक्रममा बोल्दै मन्त्री बरालले पुम्दीकोट क्षेत्रमा अहिले  दैनिक २/३ हजार पर्यटक जान थालेकोले पनि  जीर्ण सडक प्रदेश सरकारले तत्काल स्तरोन्नति गर्न आश्वासन दिनु भएको हो । सिद्धार्थ राजमार्गमा पर्ने तिलाहारदेखि वडा कार्यालयसम्म पिच भएकोले बाँकी कच्ची  सडक पिच गराउने योजनामा प्रदेश सरकार रहेको उहाँले बताउनुभयो ।

आफ्नो पहलमा छोरेपाटनदेखि शान्ति स्तुपासम्म हाल पिच सडक निर्माण भएको र  शान्ति स्तुपा हुँदै लुकुन्श्वारा, कालाबाङ घरेडी, काबे्र, उल्लेरी ढाडा हुँदै कुभिण्डेसम्म सडक निर्माण गर्ने आफ्नो लक्ष्य रहेको उहाँले बताउनुभयो । छोरेपाटनदेखि फुर्सेखोला हुँदै कुभिण्डेसम्म पनि उत्तिकै महत्त्व रहेकोले विकासको प्रमुख आवश्यकताको आधारमा प्राथमिकता दिँदै जाने योजना रहेको मन्त्री बरालले जनाउनुभयो ।

विगतका दिनको स्मरण गर्दै  भावुक हुँदै मन्त्री बरालले हाल आफू प्रदेशको अर्थमन्त्रीको नाताले भन्दा पनि विगतको साथीभाइ र आफन्तको नाताले भेटघाट भएको बताउनुभयो । पार्टी, स्थानीय, घर परिवारसहितको सबैको साथ र सहयोगले गर्दा आज गाउँको सामान्य परिवारको किसानको छोरा मन्त्री हुँदा स्थानीयले केही विकास निर्माणका माग राख्नु स्वाभाविक भएको बताउँदै मन्त्री बरालले आफ्नो ल्याकतले भ्याएसम्म सबै क्षेत्रमा सन्तुलित ढङ्गले विकास गर्न चाहेको उल्लेख गर्नुभयो ।

पुम्दीकोट क्षेत्रका अधिकांश डाँडा स्थानीयले समय र परिस्थितिले अन्य व्यक्तिहरूलाई बिक्री गरेकोले उक्त जग्गामा हाल विकास निर्माणसँगै पर्यटन गतिविधि भन्दा पनि बैङ्किङ कारोबार गर्ने थलोको रूपमा मात्र प्रयोग हुने गरेको मन्त्री बरालले गुनासो गर्नुभयो ।

काँग्रेस नेता खेमराज पौडेलले चुनौती सामना गरेर पार्टी प्रति बफादार भई पार्टीको विचारमा अडिग रहँदै निरन्तर लागेका कारण आज आफ्नै गाउँलेलाई मन्त्रीको रूपमा स्वागत तथा सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । मन्त्री बरालको पहलमा पुम्दीकोट टावर स्थापना भएकाले पुम्दीकोट विशाल महादेव मूर्ति स्थापना गर्नुको जस मन्त्रीलाइनै जाने उहाँको भनाई थियो । पोखरा २२ का वडा सचिव रामप्रसाद पौडेलले पुम्दी भुम्दीलाई अब पर्यटनको क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने बताउनुभयो ।

ढले पिपल टोल विकास संस्थाका अध्यक्ष नवराज बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओवादी केन्द्र पोखरा २२ वडा कमिटीका अध्यक्ष चण्डकीका प्रसाद बराल, पुम्दीकोट युवा क्लबका सहसचिव पवन बि.क., पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष नरहरि बराल, सचिव राजु बराल लगायतले बोलेका थिए ।  स्थानीय आमा समूह, क्लब, टोल विकास संस्थाका प्रतिनिधि र स्थानीयले मन्त्री बराललाई आफ्नो गाउँमा अर्थ मन्त्री पाउँदा निकै गौरव लागेको भन्दै खादा तथा माला लगाएर भव्य स्वागत तथा सम्मान गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button