समाचार भाइरल भएपछि पोखरामा सुन चोरी गर्ने आफै सम्पर्कमा (भिडियोसहित)

पोखरा न्यूज । पोखरामा झन्डै एक लाख मूल्य पर्ने सुनको सिक्री चोरी गर्ने महिला समाचार प्रकाशित भएसँगै सम्पर्कमा आएकी छन् ।
पोखरा महानगरपालिका -५ जिरो किमि स्थित पामे चापाकोट सुनचाँदी दुकानबाट गत शुक्रबार(पुस १६ गते) सुनको सिक्री चोरी गर्ने महिलाको बारेमा आज बिहान पोखरा न्यूजमा समाचार प्रकाशित भएसँगै दिउँसो सम्पर्कमा आएकी हुन् ।

पोखरामा पसलबाट सुनको गहना चोरेर महिला फरार (भिडियोसहित) शीर्षकमा प्रकाशित भएको भिडियो र समाचार भाइरल भएपछि समाचार डिलिट गर्न लगाउन भन्दै उक्त महिला आफ्नो सम्पर्क आएको दुकानका सञ्चालक केशव घतानेले पोखरा न्यूजलाई बताउनुभयो ।

सञ्चालक घतानेका अनुसार उनले आफू भर्खर २१ वर्ष पुगेको र ब्याचलर फस्ट ईयरमा अध्ययनरत रहेको बताउँदै सिक्रीको पैसा दिन्छु समाचार हटाइदिनुस् प्रहरीलाई खबर नगर्नुस् भन्दै फोन सम्पर्क गरेकी हुन् । ‘मेरो बारेमा आएको समाचार हटाइदिनुस् न प्लिज, म दिन्छु भनेरै बसेको थिएँ । म पैसा नै दिन्छु । म जसरी नि दिने थिएँ । म त्यस्तो पनि होइन । त्यो बेला दिमाग के भयो । अब यस्तो हुँदा पनि हुँदैन’ उनको भनाई उद्धृत गर्दै सञ्चालक घतानेले भन्नुभयो ।

आफूले सम्पर्कमा आएकी महिलाको नम्बर वडा प्रहरी कार्यालय बैदामलाई प्रदान गरेपछि प्रहरीले उनलाई सम्पर्क गरेको सञ्चालक घतानेले बताउनुभयो ।

कास्की प्रहरीले भने सञ्चालक घतानेले दिएको मौखिक जानकारीका आधारमा उनलाई पक्राउ गरिएको भन्दै लिखित जाहेरी नआएका कारण पक्राउ पर्ने महिलाको पहिचान खुलाउन नसक्ने जनाएको छ । तर सञ्चालक घतानेले भने घटना भएको दिन मौखिक जानकारी गराएर भोलिपल्ट वडा प्रहरी कार्यालय बैदाममा लिखित निवेदन दिएको बताउनुभयो ।

कास्की प्रहरी प्रवक्ताले यस अघि घटनाको बारेमा जानकारी नै नभएको अभिव्यक्ति दिएका थिए । कास्की प्रहरीले घटना घटेको ४ दिनसम्म ती महिला को हुन् ? चोरेर कहाँ फरार भइन् ? भन्ने कुराको केही पत्ता लगाउन सकेको थिएन । प्रहरीलाई छल्ने अठोट गर्दै चार चार दिनसम्म लुकेर बस्न सफल भएकी महिला समाचार प्रकाशित भएसँगै सम्पर्कमा आएकी हुन् ।

सम्बन्धित समाचार :

पोखरामा पसलबाट सुनको गहना चोरेर महिला फरार (भिडियोसहित)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button