नभएको मान्छेमाथि भ्रष्टाचारको आरोप लगाएर उम्किने प्रयत्न नगर्नुहोस्: सांसद भट्टराई

पोखरा न्यूज । प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईले पूर्व पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीमाथि भ्रष्टाचारको आरोप लगाएर उम्किने प्रयत्न नगर्न चेतावनी दिनुभएको छ ।

स्व. अधिकारीको तेस्रो स्मृति दिवसका सन्दर्भमा पोखरामा आयोजित रवीन्द्र अधिकारी र मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकारीकी धर्मपत्नी समेत रहनुभएकी उहाँले स्वर्गवास भइसकेको मान्छेमाथि नभएको आरोप लगाउने काम भइरहेको बताउनुभयो ।

‘हिजो जसले आरोप लगाउनुभएको छ, आरोप लगाउनेहरूले अव प्रमाण खोज्नुहोस् । नभएको मान्छेमाथि आरोप लगाएर उम्किने प्रयत्न नगर्नुहोस्’, सांसद भट्टराईले चेतावनी दिँदै भन्नुभयो ।

आरोपलाई प्रमाणित गरेर दोषी ठहर भए कारबाही गर्ने हिम्मत राज्यले राख्नुपर्ने तर आरोप लगाएर व्यक्तित्व माथि बारम्बार प्रहार गर्ने काम कसैले गर्न नहुने उहाँको भनाई थियो । वाइडबडी प्रकरणमा भ्रष्टाचार भएको भए त्यसमा को को संलग्न हुन् तिनको खोजी गर्नुपर्नेमा मृत्युवरण गरिसकेको मान्छेमाथि आरोप लगाएर उम्किने काम भइरहेको भन्दै सांसद भट्टराईले चित्त दुखाउनुभयो ।

आरोप प्रमाणित भएको खण्डमा कानुन अनुसारको कारबाही भोग्न आफूहरू तयार भएको भन्दै उहाँले यसमा अधिकारीमाथि लगाइएका आरोपहरू असत्य भएकाले खण्डित हुँदै गएको बताउनुभयो ।

‘नेपाली समाजमा हिजो रहेको आरोप संस्कृति अहिले राजनीतिमा लाग्न थालेको छ । कुनै तथ्य चाहिँदैन कुनै प्रमाण चाहिँदैन, हामी मन नपर्ने बित्तिकै आरोप लगाइदिन्छौ । त्यही आरोप रवीन्द्र अधिकारीले भोग्नुपर्‍यो’, सांसद भट्टराईले भन्नुभयो । आरोपलाई पुष्टि गर्नुपर्ने अन्यथा निराधार हो भनेर प्रमाणित गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठ, प्रेस स्वतन्त्र सेनानी बद्री विनोद प्रतीक ,अग्रज पत्रकार पुण्य पौडेल , पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी लगायतका सञ्चारकर्मीहरूले रवीन्द्रले सञ्चार लगायत विविध क्षेत्रमा पुर्‍याएको योगदानको बारेमा स्मरण गरेका थिए । स्व. अधिकारी मिडियामैत्री नेताका रूपमा सबैले स्मरण गरे ।

तेस्रो स्मृति दिवसमा यस वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी त्रिदिवसीय रूपमा मनाउन लागिएको प्रतिष्ठानका महासचिव धनराज आचार्यले बताउनुभयो । आचार्यका अनुसार फागुन १५ गते बिहान आठ बजे सहिद स्मृति पार्कमा स्वर्गीय अधिकारीको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली कार्यक्रम र सोही दिन पोखरा उद्योग वाणिज्य संघको हलमा बिहान एघार बजे रवीन्द्र स्मृति दिवस समारोह हुनेछ ।

फागुन १६ गते बिहान ११ बजे पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी राजनीति, विकास र रवीन्द्र अधिकारी विषयमा परिसंवाद कार्यक्रम आयोजना गरिएको आचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button