सडकसँग जोडिएपछि उज्यालिँदै दरबाङ बजारको अनुहार

डेढ दशक अघिसम्म छाप्रे पसल र घोडा खच्चडको चरन क्षेत्रका रूपमा चिनिएको पश्चिम म्याग्दीको मुख्य ग्रामीण बजार दरबाङ अहिले म्याग्दीका दुई गाउँपालिका र छिमेकी जिल्ला बागलुङका एक दर्जनभन्दा बढी गाउँका लागि व्यापार व्यवसायको प्रमुख बजार बनेको छ ।

दरबाङ बजार पश्चिम म्याग्दीको प्रमुख र जिल्लाकै दोस्रो व्यापारिक केन्द्र हो । जिल्लाको दोस्रो सदरमुकामका नामले समेत चिनिने दरबाङ बजार सदरमुकाम बेनीदेखि २४ किलोमिटर दूरीमा रहेको छ ।

धौलागिरि हिमालको प्रवेशद्वारसमेत रहेको ऐतिहासिक दरबाङ करिब पाँच दशक अघिसम्म मानव बस्तीको सुरुआती चरणमा रहेजस्तो देखिन्थ्यो । यहाँका बासिन्दा व्यापार व्यवसायमा कम र परम्परागत कृषिमा बढी महत्व दिन्थे । तर, अहिले समय फेरिएको छ ।

समयसँगै कोदो, मकै खेतीबाट जीवन गुजारा चलाउने दरबाङबासीको दैनिकी र जीवनस्तरमा पनि निकै ठूलो परिवर्तन भइसकेको छ । परम्परागत खेतीपाती होइन, व्यवसाय र आधुनिक जीवनशैली उनीहरूको दैनिकी बनेको छ । सङ्घीयता स्थापनापछि मालिका गाउँपालिकाको केन्द्र बनेसँगै दरबाङको स्वरूप फेरिन थालेको हो । पुराना घर भत्किँदै नयाँ बन्ने क्रम र केही नयाँ, केही पुराना संरचनाले भरिभराउ दरबाङले काँचुली फेर्दै गरेको देखिन्छ ।

पछिल्लो समय विकसित हुँदै गएको दरबाङ बजारमा बैंक तथा वित्तीय संस्था खुल्ने क्रम बढेको छ । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको बेनी–दरबाङ सडकको स्तरोन्नतिको काम भइरहेको छ । बेनी–दरबाङ सडक कालोपत्र भए आवतजावत र ढुवानी सहज बन्नुका साथै म्याग्दीको पश्चिमी क्षेत्रको पूर्वाधार, आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।

दश वर्षे सशस्त्र द्वन्द्वबाट प्रभावित चार जिल्लालाई समेटेर बनाइएको गुरिल्ला पदमार्गको समेत प्रवेशद्धार दरबाङलाई मानिन्छ । द्वन्द्वको केन्द्रविन्दु मानिएको म्याग्दी, बागलुङ, रुकुम र रोल्पा जिल्लाका विभिन्न ग्रामीण बस्तीलाई लक्षित गरी विस्तार गरिएको यो पदमार्ग प्रदेश नं ४ र ५ को उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने प्रबल सम्भावना समेत रहेको छ ।

द्वन्द्वप्रभावित क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकास्न र विदेशी पर्यटकलाई युद्धकालीन दिनचर्या, विकट बस्तीको जनजीवन, मगर संस्कृतिको अनुभव दिलाउन तथा माओवादीको सेल्टरलाई आधार बनाई पदमार्गको नामकरण गरिएको थियो । रुटका अधिकांश क्षेत्र युद्धकालीन समयमा माओवादीको सेन्टर मानिन्छन् ।

जिल्लाको मालिका गाउँपालिकाको दरबाङलाई प्रवेशद्धार मानिएको पदमार्गमा धवलागिरि गाउँपालिकाको धारापानी, ताकम, मुना, लम्सुङ, मरेनी, जलजला, पूर्वी रुकुमको लुकुम, उपल्लो शेरा, बागलुङको निश्यापिढारे, ढोरपाटन, रोल्पाको सुलिचौर, ज्यलबाङ, ढवाङलगायतका क्षेत्र पर्दछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button