मिदिमखोला मोटरेवल पुलले फेर्यो स्थानीयको दैनिकी

मिदिमखोला मोटरेवल पुल निर्माण सम्पन्नसँगै यहाँका स्थानीयवासीको दैनिकी फेरिएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्लाको क्व्होलासोथर गाउँपालिका –८ घाम्राङ र वडा २ मालिङ जोड्ने मिदिमखोला पुल केही दिनअघि निर्माण सम्पन्नसँगै स्थानीयको आवातजावतमा समय छोटिएसँगै यतिबेला दैनिक पनि फेरिएको हो ।

पुल नहुँदा अन्य स्थानबाट घुमेर घण्टौँ समय लाग्ने गरे पनि सो समयभन्दा झन्डै तीन-चार घण्टा समय छोटिएपछि यहाँका स्थानीयवासीको दैनिकी पनि सहज बन्न पुगेको हो । खोलाले पालिकालाई दुई भागमा बाँडे पनि मिदिमखोला पुलले जोडेको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो ।

गुरुङले भन्नुभयो, “विशेष गरी पसगाउँ, सिङ्दीका जनता पालिका केन्द्र र जिल्ला सदरमुकामसम्म पुग्नलाई सहज बनाएको छ । सँगसँगै वडा नं २ मालिङ र ४ नम्बरको वडाका जनतालाई पोखरासम्म सिधा बाटो जानसक्ने भएको छ ।” बेँसीसहरबाट जाँदा उदिपुरको झन्झटिलो बाटो व्योहोर्नु नपर्ने भएको उहाँको भनाइ थियो ।

छोटो बाटो टक्सार रामबजार हुँदै पोखरा जानलाई समेत सहज बनाएको उहाँको भनाइ छ । त्यस्तै, मान्छे बिरामी हुँदा, स्थानीयवासीको उत्पादित वस्तु बजारसम्म पुर्याउन यो पुल मेरुदण्डको रुपमा स्थापित भएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

स्थानीयवासी सुलबहादुर विकले पुल निर्माणले आवतजावत सहज भएसँगै यहाँका स्थानीयवासी हर्षित भएको बताउनुभयो । पूर्वाधार विकास कार्यालयमार्फत प्रदेश सरकारको रु सात करोड दश लाख बीस हजारमा सो पुल निर्माण सम्पन्न गरेको पूर्वाधार कार्यालय लमजुङका प्रमुख सुमन गिरीले बताउनुभयो ।

उहाँका अनुसार ७० मिटर लम्बाइ र ६ मिटर चौडाइको यस पुलको दुवैतर्फको पिलर उठाउने, तारजाली लगाउने, सुपर स्ट्रक्चरको ढलान कार्यलगायत सम्पूर्ण कार्य सम्पन्न भएसँगै केही दिनअघिदेखि सवारीसाधन चल्न थालेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button