
तालिवानले अफगानिस्तानमा महिलालाई पार्कमा जान प्रतिबन्ध लगाएको छ ।
अफगानिस्तानमा शासन गरिरहेको तालिवानको नैतिकता मन्त्रालयले महिलाहरुले इस्लामिक पहिरन अनुसारका कपडा नलगाएका हुनाले प्रतिबन्ध लगाइएको जनाएको छ । त्यहाँको सदाचार प्रवर्धन तथा दुष्कर्म नियन्त्रण मन्त्रालयका प्रवक्ता मोहम्मद आकिफ मुहाजिरले उक्त कुराको पुष्टि गरेका हुन् ।
“पछिल्ला १४-१५ महिनामा हामी सरियाको नियम भित्रै रहेर महिलाहरुलाई पार्कमा घुम्ने वातावरणको परीक्षण गर्दै आएका थियौ”, उनले भने, “तर पार्कका सञ्चालकहरुले राम्रोसँग सहकार्य गरेनन् न नै महिलाहरुले हिजाब पहिरिए । त्यसैले अहिलेका लागि महिलालाई पार्कमा प्रतिबन्ध गरिएको छ ।”
अफगानिस्तानमा तालिवानले महिलाई अनुहार ढाक्ने हिजाब र बुर्का अनिवार्य गरेको छ । पश्चिमा राष्ट्रहरुले उक्त निर्णयलाई खारेज गर्न निरन्तर दबाब दिए पनि तालिवान टसको मस भएको छैन ।
पार्कमा महिलालाई जान कहिलेसम्म प्रतिबन्ध लगाइने भन्ने बारे कुनै जानकारी दिइएको छैन ।