छैटौँ पटक संसद् यात्रामा रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसदमा प्रवेश गर्नुहुने भएको छ ।

उहाँले यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ-२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पौडेल २०७४ को निर्वाचनमा तत्कालिन वामगठबन्धनका कृष्णकुमार श्रेष्ठसँग छ हजारभन्दा बढी मतान्तरले पराजित हुनुभएको थियो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत तनहुँ-१ बाट निर्वाचित भएर पौडेलले छैटौँ पटक संसद्को यात्रा तय गर्नुभएको हो । यसका लागि पौडेलले नेकपा (एमाले)का एकबहादुर रानालाई पाँच हजार तीन सय ७५ मतान्तरले पराजित गर्नुभयो ।

कुल ६६ हजार एक सय ५८ मत खसेकोमा चार हजार मत बदर भएको छ । पौडेलले २५ हजार तीन सय १८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो । प्रतिस्पर्धी रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार आठ सय ७८, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राप्रपाका विनोद घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गर्नुभएको छ ।

जिल्लाको अधुरा रहेका विकास योजनालाई निरन्तरता दिन उम्मेदवार बनेको बताउँदै आउनुभएका पौडेलले कार्यकारी पदमा रहेर काम गर्ने इच्छा रहेको बताउनुभएको छ । देशमा सुशासन र विकासका लागि कार्यकारी पदमा बस्ने चाहना भएको बताउँदै पौडेललाई तनहुँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उक्त बाटो खुलेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताउनुभयो ।

विसं २००१ को असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिनुभएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको थियो । नेपाली कांग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाउनुभएको थियो । पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित हुनुभएको थियो ।

२०२७ सालमा नेपाल विद्यार्थी सङ्घको स्थापनामा पौडेल पनि सहभागी हुनुभएको थियो । पौडेल २०४८ सालमा तनहुँ-१ बाट पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँ यसबीचमा उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसक्नुभएको छ ।

उहाँले सभामुखको जिम्मेवारी पनि निभाउनुभएको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि हुनुहुन्थ्यो । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button