पोखराको कास्कीकोटमा स्वास्थ्य चौकी भवनको उद्घाटन

पोखरा महानगरपालिका वडा नं.२४ कास्कीकोटमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । पोखरा २४ को माथिल्लो भेगलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको उक्त भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

नगरवासीलाई सर्वसुलभ आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यमा पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो । भौतिक निर्माणसँगै सेवा महत्त्वपूर्ण हुने बताउनु भएका प्रमुख आचार्यले केन्द्रको क्षमता र स्वास्थ्यकर्मीहरूको दक्षता अनुसारको सेवा प्रवाहमा जोड दिनुभयो । प्रारम्भिक चरणको प्रयोगशाला परीक्षण गर्ने गरी आधारभूत ल्याबहरू स्थापनाको तयारीमा महानगर रहेको बताउँदै उहाँले प्राथमिक उपचारका लागि वडा नं. २४ का नागरिकहरू पोखरा झर्न नपर्ने अवस्थाको सृजना गरिने बताउनुभयो ।

उपप्रमुख मन्जुदेवी गुरुङले प्रत्येक वडाहरूमा आधारभूत स्वास्थ्य पहुँच पुर्‍याउने गरी काम भइहरेको बताउनुभयो । विकास र समृद्धिको सूचकका रूपमा स्वास्थ्य रहेकाले समुन्नत पोखरा निर्माणका लागि यस्ताका प्रकारका सेवा केन्द्रहरू स्थापना र सञ्चालन आवश्यक रहेको बताउनुभयो । स्वाथ्यचौकी भवन निर्माणका लागि बाबुराम तिमिल्सीना र देवी प्रसाद दवाडीले जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।

हाल पोखरा महानगरपालिका अन्तर्गत प्राथमिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र, सहरी स्वास्थ्य केन्द्र र आयुर्वेदिक औषधालय गरी ४९ स्वास्थ्य संस्थाहरू महानगरका ३२ वटा वडामा सञ्चालनमा छन् । १२४ खोप क्लिनिक र ८८ वटा गाउँघर क्लिनिकहरू समेत महानगरका विभिन्न स्थानमा सञ्चालित छन् ।

व्यापक आपतकालिन प्रसूति र नवजात शिशु हेरचाह (१), आधारभूत आपतकालिन प्रसूति र नवजात शिशु हेरचाह (२) र तीन वटा सूचीकृत प्रसूति केन्द्रहरू मार्फत सेवा प्रदान गरिएको छ । महानगरका १६ वटा स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ भने, २३ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतनको सेवा महानगरले उपलब्ध गराएको छ ।

महानगरको स्वास्थ्य सेवालाई प्रभावकारी र जनमैत्री बनाउन ३३० जना कर्मचारी र ६५६ जना महिला स्वास्थ्य स्वंयमसेविकाहरु कार्यरत छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button