दुई सय ८६ रनको लक्ष्य पछ्याउँदै नेपालको शानदार जित

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले २८६ रनको लक्ष्य पछ्याउँदै ऐतिहासिक जीत हासिल गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जित्दै पहिले फिल्डिङको निर्णय लियो । नामिबियाका लागि माइकल भान लिन्गेनले शतकीय योगदान गर्दै १ सय ३३ रन बनाए भने गेर्हार्ड एरास्मसले ५६ बनाए । नेपालका लागि करन केसीले ५ विकेट लिँदा खेलमा पुनरागमन गर्दै गरेका सन्दीप लामिछानेले ३ विकेट चट्काए । नामबियाका जेन ग्रीनले १९ बलमै ३४ रन बनाउँदै टोलीलाई २ सय ८५ रनको योगफलसम्म पुर्याउन सफल भए ।

प्रतिउत्तरमा २ सय ८६ रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । भुर्तेलले १ सय १५ रनको शतकीय पारी खेल्दै डिभिजन २ मा नेपालका लागि पहिलो शतक प्रहार गर्ने खेलाडी बने भने तेस्रो विकेटका लागि कप्तान पौडेलसँग १ सय ३३ रनको कीर्तिमानी साझेदारी पनि गरे । पौडेलले व्यक्तिगत ७२ रन बनाए भने सुन्दीप जोराले २८ रनको योगदान दिए ।

लक्ष्यको अन्तिमतर्फ पुग्दै जाँदा केही धर्मराएको नेपाली पारीलाई सम्हाल्दै करन केसीले २० रन प्रहार गरे भने सोमपाल कामीले आफूले सामना गरेको पहिलो बलमै चौका प्रहार गर्दै टोलीलाई दुई विकेटको जीत दिलाए । नामिबियाका लागि रुबेल ट्रम्पलम्यान र जेन निकोल लोफ्टीइटनले समान ३-३ विकेट लिन सफल रहे ।

नामिबियाले अब भोलि नै आफ्नो दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्नेछ भने नेपालले शुक्रबार स्कटल्याण्डसँगै आफ्नो दोस्रो खेल खेल्नेछ । यस जीतसँगै नेपालले एकविवसीय वरियता कायम राख्ने सम्भावना जीवितै राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button