सन्दीप र आसिफको उत्कृष्ट ब्याटिङमा पपुवा न्यूगिनीमाथि नेपालको जीत

आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा पपुवा न्यूगिनीलाई नेपाललाई तीन विकेटले हराएको छ । आसिफ सेख र सन्दीप लामिछानेले उत्कृष्ट साझेदारी गरेसँगै नेपालले आज जित्नैपर्ने खेलमा सफलता हासिल गरेको हो ।

टस हारेर ब्याटिङमा उत्रेको पिएनजीले ४९.२ ओभर खेल्दै अलआउट भएर एक सय ७९ रन बनाएको थियो । पिएनजीका लागि टोनी उराले नटआउट ३९ र किप्लिङ डोरिगाले २६ रन बनाउँदै पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे। हिरि हिरिले ३१ र गौडी टोकाले १५ रन बनाएसँगै पिएनजीले नेपाललाई सय ८० लक्ष्य पेस गरेको हो ।

नेपाली बलरले निरन्तर विकेट लिँदा पिएनजीको इनिङले खासै लय समात्न सकेन । बलिङतर्फ नेपालका दीपेन्द्र सिंह र सोमपाल कामीले दुई-दुई विकेट लिए । सन्दीप लामिछाने, कुशल मल्ल र करन केसीले एक एक विकेट लिए ।

एक सय ८० रनको लक्ष्य पछ्याउँदै नेपालले आफ्नो शुरूवात भने खराब गर्यो । कुशल भुर्तेललाई खाता नखोल्दै गुमाएको नेपालका ६ खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । ज्ञानेन्द्र मल्लले ६, भीम सार्कीले ८, रोहित पौडेल र आरिफ सेखले १-१ तथा दीपेन्द्र सिंहले ८ रन बनाए । खेलको ३२ औं ओभरमा १०५ रन बनाउँदा ७ विकेट गुमाइसकेको नेपालका लागि त्यसपछि सन्दीप र आसिफले उत्कृष्ट ७७ रनको साझेदारी गर्दै जीतसम्मै पुर्याए ।

म्यान अफ द म्याचसमेत घोषित आसिफ सेखले १३० बलमा अविजित ८६ रन बनाए । सन्दीपले पनि अविजित ३५ रन बनाउँदै आसिफलाई अन्तिमसम्म नै साथ दिए । नेपालका लागि कुशल मल्लले पनि २३ रनको योगदान दिए ।

बलिङतर्फ पिएनजीका असद भल्लाले ३ तथा सेमो कामिया र सेसे बाउले २-२ विकेट लिन सफल रहे । जीतसँगै ३१ खेलबाट ३० अङ्क बटुलेको नेपाल छैटौं स्थानमा छ भने पिएनजीको ३० खेलबाट ७ अङ्क मात्रै छ । प्रतियोगिताको शीर्ष दुई स्थानमा रहँदै स्कटल्याण्ड र ओमान छनोट भइसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button