नेपालले युएईलाई ४२ रनले हरायो, अङ्कतालिकामा पनि उछिन्यो

आइसीसी विश्वकप डिभिजन २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले युएईलाई ४२ रनले हराएको छ ।

दुबई इन्टरनेसनल स्टेडियम भएको खेलमा नेपालले पहिले ब्याटिङ गरेको थियो । सिरिज अन्तर्गत यस अघिका हरेक खेलमा टस जितेर फिल्डिङ गरेको टोलीले पहिलोपटक ब्याटिङ गरेको हो । निर्धारित ५० ओभर खेल्दै नेपालले ८ विकेटको क्षतिमा २ सय २९ रनको योगफल तयार गर्यो । नेपालका लागि भिम सार्कीले ७० रन बनाउँदा, आरिफ सेखले ४३, कुशल मल्लले ४२ र सन्दीप लामिछानेले २७ रनको योगदान दिए । करन केसीले १८ र डेब्यु गर्दै गरेका प्रतीस जिसीले पनि ११ रनको योगदान दिए । बलिङतर्फ युएईका जुनेद सिद्दीकीले ३ तथा रोहन मुस्ताफा र आर्यन लाक्राले २-२ विकेट लिए ।

प्रतिउत्तरमा २ सय ३० रनको लक्ष्य पछ्याएको युएई ४५ ओभरमा अलआउट हुँदै १ सय ८७ रनमा सीमित भयो । युएईका लागि आसिफ खानले ८२ र आर्यन लाक्राले ५० रन बनाउनु बाहेक अन्य खेलाडीले खासै उल्लेख्य योगदान दिन सकेनन् । भृत्या आनन्दको १३ रन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन पनि सकेनन् । नेपालका लागि सोमपाल कामी र दीपेन्द्र सिंहले ३-३ तथा करन केसी, सन्दीप लामिछाने र आरिफ सेखले १-१ विकेट लिन सफल रहे ।

नेपाली टोलीमा चोटका कारण नियमित ओपनर कुशल भुर्तेलले खेल गुमाएका थिए । उनको स्थानमा नेपालले पेसबलर प्रतिश जिसीलाई मौका पाए । आजको खेलमा जित्नै पर्ने बाध्यता रहेको नेपालले लिगको अङ्कतालिकामा युएईलाई पहिलो पटक उछिनेको छ । शीर्ष ३ मा रहँदै लिगको अन्त्य गर्ने दाउमा रहेको नेपाललाई अब थप चार खेल जित्नुपर्नेछ । अब बाकिँ चार खेल भने नेपालको घरेलु मैदानमा हुनेछ ।

यसरी सबै खेल जिते नेपाल विश्वकप छनोटका लागि सिधै छनोट हुनेछ । नेपालसँगै युएईलाई पनि अघि बढ्न अब बाकिँ सबै खेल जित्नुपर्ने हुनेछ । डिभिजन २ मा सात देश सहभागी छन् जसमध्ये स्कटल्याण्ड र ओमानले शीर्ष दुई स्थान पक्का गरिसकेका छन् । तेस्रो स्थानको नामिबियाले सबै खेल खेल्दा ३९ अङ्क बटुलेको छ भने ४-४ खेल कम खेलेका नेपाल र युएई क्रमश ३२ र ३१ अङ्कका साथ पाँचौ र छैटौँ स्थानमा छन् ।

चौथो स्थानको अमेरिकाको ३५ अङ्क छ भने लिगको पुछारमा पपुवा न्युगिनी छ । जारी लिगमा युएईले पपुवा न्युगिनीविरुद्ध दुई खेल हारिसकेको छ भने नेपाललाई एक खेलमा पराजित गरेको छ । नेपालले आफ्नो पिएनजीविरुद्धको दुवै खेलमा जीत हासिल गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button