पोखरामा २ करोडको लागतमा रानीमहलको झल्को दिने ‘पाल्पा हाउस’

पोखरा, ०८ चैत । पाल्पाको रानीमहलको झल्को दिने गरी पोखरामा पाल्पा हाउस सञ्चालनमा आएको छ । पाल्पा हाउस प्रालिले झन्डै दुई करोडको लगानीमा पोखराको न्यूरोडमा मायाको प्रतीक रानीमहलको झल्को दिने गरी पाल्पा हाउसको भवन निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

एकै छानामुनि विभिन्न सेवा दिने उद्देश्यले पाल्पा हाउसमा कुल १७ सटरमा विभिन्न प्रकृतिका पसलहरू सञ्चालित रहेको प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए । ‘रानीमहल रेस्टुरेन्ट’ मा पाल्पाली परिकार चुकाउनी, बटुक, मिसमास, छोयला लगायत चलनचल्तीका खानाका विभिन्न परिकार उपलब्ध हुने घिमिरेले बताए ।

पाल्पा र कास्कीमा उत्पादित मौलिक उत्पादन तथा सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने मूल उद्देश्यले पाल्पा हाउस सञ्चालनमा ल्याइएको उनले बताए । पाल्पाली चिनारीहरू ढाका, करुवा लगायत फलफूल तथा कृषिजन्य उत्पादनहरू पाल्पाकै सुपथ मूल्यमा उपलब्ध गराइ कास्कीको पहिचान जेठो बुढो तथा विभिन्न कृषि उत्पादनको बजारीकरण गरिने पाल्पा हाउसमा गरिने घिमिरेको भनाई छ ।

पाल्पा हाउसको पोखराका मेयर धनराज आचार्य र तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले चैत १० गते शुक्रबार संयुक्त उद्घाटन गर्ने कार्यक्रम तय भएको घिमिरेले जानकारी दिए । सो अवसरमा एक सातासम्म विभिन्न सेवामा छुटको व्यवस्था मिलाइएको प्रालिले जनाएको छ ।

पाल्पा र पोखराबिच पुरानो सम्बन्ध रहेको छ । पहिले पोखरेली पढ्न पाल्पा जान्थे । समयक्रमसँगै विभिन्न कामकाजको सिलसिलामा पाल्पालीहरू पोखरा झरे । पाल्पा जिल्ला घर भई हाल पोखरामा विभिन्न पेसा, व्यवसाय, अध्ययनको सिलसिलामा पाल्पाली समाज पोखरा जन्मियो । समाजकै पहलमा पाल्पा हाउस प्रा.लि., पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.र पाल्पाली कोलोनी खुलेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button