अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक सुनुवाई : लम्पीस्किनदेखि बालेनको बुक फ्री फ्राइडेको चर्चा

कास्कीको अन्नपूर्ण गाउँपालिकामा भएको सार्वजनिक सुनुवाईमा लम्पीस्किन रोगले निम्त्याएको समस्यादेखि काठमाडौंका मेयर बालेन्द्र शाहले सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ को चर्चा भएको छ ।

काठमाडौंमा हरेक शुक्रबार विद्यार्थी किताब नबोकी विद्यालय गएर दैनिक जीवनयापनसँग जोडिने सीप सिक्छन् । त्यो अभियान अन्नपूर्ण गाउँपालिकामा पनि चलाउन स्थानीयले माग गरेका हुन् । कास्कीको अन्नपूर्ण गाउँपालिका ३ का ध्रुव पौडेलले शुक्रबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्दै हप्तामा एकदिन जीवनउपयोेगी शिक्षा सिकाउने व्यवस्था गर्न गाउँपालिकासँग माग गरे । ‘काठमाडौंमा शुक्रबार विद्यार्थी किताब निलई विद्यालय जान्छन् । पाठ्यपुस्तकभन्दा बाहिरका कुरा सिक्छन्,’ पौडेलले भने, ‘हाम्रा विद्यालयमा पनि त्यसरी नै एकदिन जीवनउपयोगी शिक्षा सिकाउन पाए राम्रो हुन्थ्यो ।’
जवाफमा गाउँपालिकाले आफूहरु विद्यार्थीलाई खेती सिकाउने योजना रहेको बतायो ।

जवाफमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम भुगाइँले आफूहरु पनि हप्तामा एकदिन विद्यार्थीलाई मौसमअनुसारको खेती गर्न सिकाउने योजनामा रहेको सुनाए । ‘हामीकहाँ ५७ वटा विद्यालय छन् । सबैमा सुरुमा नसकिएला, २÷३ वटा विद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई मौसमी खेती सिकाउने योजना छ,’ भुगाइँले भने, ‘असारमा धान लगाउन, त्यसपछि गहुँ, कोदो लगाउन अनि मौसमी तरकारी पनि खेतमै लगेर लगाउन सिकाउँछौं ।’

अन्नपूर्ण-२ का हरिराम भण्डारीले पशुमा लम्पी स्किन रोग देखिएकाले त्यसले भयावह स्थिति लिन नसक्ने गरी योजना ल्याउन गाउँपालिकालाई आग्रह गरे । गाउँपालिकामा मौज्दात औषधि पनि नभएको जानकारी पाएकाले त्यो समस्या समाधान गर्न उनले ध्यानाकर्षण गराए । ‘मान्छेमा कोरोना देखिएजस्तै पशुमा लम्पी स्किन रोग भयावह देखिएको छ । यसमा गाउँपालिकाभरको अनुगमन एकैपटक गर्न नसकिएला । तर, त्यसको जोखिमलाई ध्यानमा राखेर औषधि तयार राख्नपर्यो,’ उनले भने ।

जवाफमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले आफूहरुले बिहीबार कार्यपालिका बैठकबाटै लम्पी स्किन नियन्त्रणका लागि सबै पहल गर्न सम्बन्धित शाखालाई जिम्मा दिने निर्णय गरेको जानकारी दिए । ‘रोग फैलन नदिन के गर्न सकिन्छ ? के–के औषधि चाहिन्छ, के गर्नुपर्छ सबै गर्न भनेर पशु शाखालाई भनेका छौं,’ उनले सुनाए ।

अन्नपूर्ण-११ का जमान गुरुङले आफूले चार वर्षअघि स्वास्थ्य चौकी बनाएबापतको पैसा अहिलेसम्म नपाएको बताए । गाउँपालिकाबाट उपभोक्ता समितिलाई पैसा गएको भनिए पनि आफूले त्यो नपाएको उनको भनाइ थियो । ‘पुरै पैसा पाएकै छैन । उपभोक्ता समितिले हामीले हार्डवेयरमा तिर्दियौं भन्छ । त्यहाँ तिर्ने त मेरो काम हो नि,’ ठेकेदार गुरुङले सुनाए । उनले छानबिन गर्न माग गर्दै शुक्रबार नै न्यायिक समितिमा निवेदन दिएका छन् । न्यायिक समिति संयोजकसमेत रहेकी गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले आफूहरुले दुवै पक्षलाई बोलाएर सत्य पत्ता लगाउने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button