वरिष्ठ साहित्यकार परशु प्रधानको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार परशु प्रधानको निधन भएको छ । उनको गएराति काठमाडौँको बानेश्वरस्थित निवासमा ८० वर्षको उमेरमा निधन भएको हो ।

प्रधानको बिहान ९ बजेसम्म राधामोहन मार्ग-२० मा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने र आजै ९ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको उनको परिवारले जनाएको छ ।

परशु प्रधान डिजिटल मिडिया सोसाइटीका अध्यक्ष एवं बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानका बुबासमेत हुन् । परशु प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् । अर्का छोरा प्रतिबोध व्यवसायमा छन् ।

परशु प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए अध्ययन गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए ।

प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए । २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् ।

बक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह हुन् ।

सीताहरु र घर कथोपन्यास पनि प्रकाशित भएका छन् । करिब एक दर्जन बाल कथाहरु पनि प्रकाशित भएका छन् । नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित भएका छन् ।

प्रारम्भमा परशु प्रधान र भूमिकै भूमिकामा परशु प्रधान भन्ने भूमिका संग्रह पनि प्रकाशित भएका छन् ।

त्यसैगरी भोजपुरः एक अध्ययन, सजिलो नागरिक शास्त्र, सगरमाथा अञ्चलको भूगोल, सामान्य ज्ञान डाइजेस्ट २९ संस्करणसम्म प्रकाशित भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button