सरकार नागरिकमा आशा जगाउन केन्द्रित : मन्त्री गिरी

म्याग्दी । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकार नागरिकमा आशा जगाउने काममा केन्द्रित भएको बताएका छन् ।
म्याग्दीको बेनीमा नेकपा (एमाले) का कार्यकर्तासँगको भेटघाट कार्यक्रममा मन्त्री गिरीले सरकारले नागरिकमा आशा जगाउँदै सुशासन र समृद्धिको मुद्दालाई प्राथमिकता दिएको बताए ।

“एक डेढ वर्षको अवधिमा जनतामा चरम निराशा छाएको थियो । जनताको चुलो निभ्ने अवस्था सिर्जना भयो”, उनले भने, “जनतामा रहेको निराशालाई चिरेर आशा जगाउनुपर्ने जिम्मेवारी पूरा गर्न वर्तमान सरकारले प्राथमिकता दिएको छ ।”

नागरिकले व्यवहारमा सुशासनको महसुस गर्ने वातावरण बनाउन सरकार भ्रष्टाचार नियन्त्रण गर्न निर्मम भएको मन्त्री गिरीले बताए ।

सङ्घीयता र संविधान कार्यान्वयनका लागि कानुन तथा नीति नियम बनाउन संसद्लाई विजनेस दिन खोजे पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध सिर्जना गरेको उनले टिप्पणी गरे ।

मन्त्री गिरीले पर्वतको जलजला गाउँपालिका-२ दहमा सोमबार राति हत्या गरिएका सूर्यबहादुर र गमला जिसीका परिवारका सदस्यलाई भेटेर सान्त्वना दिए ।

घटनामा संलग्नको पहिचान गरी पक्राउ गर्न सुरक्षा संयन्त्र परिचालन भएको र अपराधीलाई कानुनअनुसारको कारबाही गरिने उनले बताए ।

एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठले म्याग्दीको विकासका लागि मन्त्री गिरीसँग जिल्लावासीले अपेक्षा राखेको बताए ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कानुनको अभावमा स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button