
पाेखरा । हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ । जसकाे प्रभावले गण्डकी प्रदेशकाे राजधानी पाेखरामा मंगलबार साँझ केही समय हल्का वर्षा भएको थियो ।
विभागका अनुसार आज दिउँसो गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।
साथै गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।





