पोखराका पर्यटन व्यवसायीले पनि सेवा सुचारु गर्दै

पोखरा। कोरोना भाइरस (कोभिड-१९) को कारण देशमा लगातार ४ महिना लकडाउन हुँदा नराम्रोसँग प्रभावित भएको पर्यटन क्षेत्रलाई माथि उकास्न पोखरा क्षेत्रका पर्यटन व्यवसायी आन्तरिक तयारीमा जुटेका छन् । साउन ७ गते देखि लकडाउन खुले पनि होटल, रेष्टुरेण्ट सहितका केही सेवा साउन १५ देखि संचालन हुने भएसँगै पोखरा क्षेत्रका पर्यटन व्यवासयीहरु पर्यटकीय गतिविधि संचालन गर्न आन्तरिक तयारीमा जुटेको पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी बहादुर भट्टराईले बताए ।

लकडाउन खुले पनि हालको अवस्थामा पर्यटकीय गतिविधि पूर्ववत रुपमा संचालनमा आउन नसक्ने भए पनि आंसिक रुपमा भने केही सेवा संचालन गर्ने गरी पर्यटन व्यवसायीहरु तयारीमा जुट्न लागेको उनले जनाए । बजेट तथा कार्यक्रमसँगै हालै आएको मौद्रिक नीतिले पर्यटन व्यवसायी उत्साहित भएको उपाध्यक्ष भट्टराईले जनाए । उनले भने “ घर गएका मजदुरहरुलाई विस्तारैै काममा फर्काउने, होटल तथा रेष्टुरेण्ट चुस्त दुरुस्त पार्ने, भौतिक दुरी कायम गर्ने, कोरोना संक्रमण बढ्न नदिन डब्लु.एच.ओ.ले दिएको मापदण्ड पुरा गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्न तर्फ हामी केन्द्रित भएका छौं । ”

लकडाउन खोलेको ढिलोमा पनि एक वर्ष पछि मात्र कोरोनाको असर कम हुँदै स्थिति सहज हुने आफुहरुले अपेक्षा गरेको जनाउँदै उपाध्यक्ष भट्टराईले नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ-दिपावलीको अवसरमा घुमघाममा निस्कने प्रचलन सुरु भएकोले गर्दा थोरै भए पनि आन्तरिक पर्यटन प्रवर्धन हुने अपेक्षा गरेका बताए । पर्यटन क्षेत्रका उद्योगी व्यवसायीलाई लक्षित गरी १ अर्ब पुनः कर्जा प्रवाह गर्ने बजेटले सम्बोधन गरे पनि मौद्रिक नीतिले भने करिब व्यवसायीहरुका ८० प्रतिशत माग सम्बोधन गरेको उनले जनाए । लकडाउनको कारण पोखरा क्षेत्रमा करिब ८ अर्बको क्षति भएको उपाध्यक्ष भट्टराईले जनाए । यस क्षेत्रको पर्यटन क्षेत्रमा करिब ३० हजार जना आबद्ध रहेका छन्। पर्यटन क्षेत्रमा पोखरामा अबौं लगानी भएको छ ।

यसैबीच, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पनि पोखरा क्षेत्रमा साउन १५ देखि केही मात्रमा होटलहरु संचालन हुने गरी तयारी सुरु भएको जनाए । नेपाली चार्ड पर्व तथा अग्रेंजी महिना अक्टोबर नोभेम्भरको तयारी स्वरुप अब आफुहरु विस्तारै तयारीमा जुट्न थालेको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button