काठमाडौँ, १८ साउन-
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा (एमाले)ले भने निर्वाचनमा आफ्ना तर्फबाट उम्मेदवारी नदिने भएको छ ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा प्रचण्डले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउनुभएको हो ।
अध्यक्ष प्रचण्डका प्रस्तावकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ । समर्थकमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेकपा (संयुक्त)का जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र स्वतन्त्र सांसद चन्द्रेश्वर झा हुनुहुन्छ ।
प्रधानमन्त्रीमा उम्मेदवारी नदिने भए पनि एमालेले नेपाली काँग्रेस र (माओवादी केन्द्र)का उम्मेदवार पुष्पकमल दाहालका विरुद्धमा मतदान गरी जिम्मेवार प्रतिपक्षमा बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको एमाले स्थायी कमिटीको बैठकपछि पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आफूहरुले राष्ट्रिय सहमतिका लागि आवाज उठाउँदै आएका सन्दर्भमा जिम्मेवार राजनीतिक संस्कार र वातावरणका लागि सो निर्णय गरेको बताउनुभयो ।
संसद् नियमावलीअनुसार प्रधानमन्त्री पदमा एक मात्र उम्मेदवार भए पनि मत विभाजनबाट निर्णय हुनेछ । एमालेले हालसम्म आफ्नो गठबन्धनमा रहेका दललाई पनि दाहालको विरोधमा मतदान गर्न आग्रह गरेको छ ।
व्यवस्थापिका–संसद् सचिवालयले तयार गरेको निर्वाचन कार्यक्रमअनुसार आज बिहान ११ः०० बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । आजै अपराह्न ४ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । बुधबार बिहान ११ बजे हुने संसद्को बैठकमा सबै उम्मेदवारको सूचना प्रस्तुत भई प्रस्तावक र समर्थकको समर्थनपछि ती सूचनामाथि सामूहिक छलफल र निर्णयार्थ प्रस्तुत (मतदान) गरिनेछ । ती सबै कार्यक्रम संसद् भवन नयाँबानेश्वरमा हुनेछ ।





