पर्याप्त बजार अनुगमन नहुदा उपभोक्ता मारमा

पोखरा, २५ साउन –

उपभोक्ताले सामान किन्दा बढि मूल्य तिर्नुपरेको, उत्पादित वस्तुमा लेवल नलगाईएको, कम तौल, म्याद नाघेको लगायतका समस्या यथावत् छन् । यसलाई नियन्त्रण गर्ने सरोकारवाला पक्षले समेत यसलाई स्वीकार गरेका छन् । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाका प्रमुख किशोर खत्रीले समेत अनुगमन निरीक्षण कार्य पर्याप्त हुन नसकेको स्वीकार गरे ।

कार्यालयले पोखरामा सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७२-७३ को तेस्रो चौमासिक एवं वार्षिक प्रगति समिक्षा कार्यक्रममा उनले वर्षभरका गतिविधि प्रस्तुत गर्दै आवश्यक मात्रामा आफुहरुले कार्य गर्न नसकेको स्विकारेका हुन् । ‘जनशक्ति कमी छ । आवश्यक श्रोत साधनको अभाव छ । प्रयोगशाला सुदृढिकरण आवश्यक छ ।’ उनले भने– ‘तर हामीले काम नगरेका भने होईनौं । श्रोत साधनले सम्भवभएसम्म गरेका हौं ।’ उनले मिडिया तथा उपभोक्ता, व्यवसायीलाई तालिम, खाद्यमेला आयोजनार्थ सहयोग, खाद्य स्वच्छता सम्बन्धी विभिन्न स्थानमा अन्र्तक्रिया, बजगार अनुमनमा भएका कामकारबाहीबारे सहभागीलाई जानकारी गराए । पश्चिमाञ्चलका विभिन्न १६ जिल्लामा वर्षभर ४७ जना अनुगमन भएको जानकारी गराईयो ।

सो अवसरमा प्रमुख अतिथि पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख नेपाल भुषण वैद्यले उपभोक्ताको स्वास्थ्य र हितलाई मध्यनजर गर्दै उद्योगी, व्यवसायीले आफ्नो मर्यादामा रहेर उपभोग्य वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिए ।

गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोजकुमार पोखरेलले बजारमा अनुगमनका क्रममा व्यापारी व्यवसायीहरुले तौलमा ठग्ने गरेको पाईएको उल्लेख गरे । उनले ढक तराजु नियमित नविकरण गर्न आग्रह समेत गरे ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले उपभोक्ताको हितसँग प्रत्यक्ष जोडिएको कार्यालय खाद्य तथा गुण नियन्त्रण कार्यालयले आफ्नो गतिविधि बढाउनुपर्ने र बजार अनुगमन कार्य सक्रिय पार्न सुझाव दिए । उपभोक्ता हित संरक्षण मञ्च कास्कीका अध्यक्ष कृष्णप्रसाद बरालले अनुगमनका क्रममा सिडिओ सहित शिलबन्दी गर्ने तर उसलाई पछि कारबाही के कस्तो भयो ? भन्नेबारे सञ्चारमाध्यममा जानकारी दिन आनाकानी गर्ने प्रवृत्ति राम्रो नभएको बताए । सो अवसरमा पत्रकार रमेश पौडेल, कमल पौडेल अथक लगायतले अनुगमनका क्रममा मिडिया डाक्ने तर त्यसपछि कसरी कुरा मिल्यो ? के भएर कुरा मिल्यो ? भनेर थाहा नहुने भन्दै उद्योग व्यवसायको अवस्था फेरि उस्तै हुनेतर्फ सचेत गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button