सुकुम्वासीलाई आफ्नै कार्यकालमा जग्गाधनी पुर्जा – मन्त्री पाण्डे

चितवन, ३ भदौ –

भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले आफ्नो कार्यकालमा सुकुम्वासी नेपालीलाई जग्गाधनी पुर्जा वितरण गर्ने बताउनुभएको छ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अदालतमा विचाराधीन अवस्थामा रहेको सुकुम्वासी समस्या समाधान आयोगको मुद्दा सल्टाएर सुकुम्वासी समस्या समाधान गर्ने बताउनुभयो ।

मन्त्री पाण्डेले राजनीतिकभन्दा पनि कानुनी उपचारको प्रक्रियाबाट सुकुम्वासी समस्या समाधान आयोग गठन गर्ने जानकारी दिनुभयो । नेपालमा बसेर जग्गाधनी प्रमाण पुर्जा नपाएका सुकुम्वासी नेपालीलाई लालपुर्जा दिलाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । जनताको शक्तिलाई साथ लिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपालीको समस्या समाधान गर्ने उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले नारायणी र राप्ती नदीको कटान नियन्त्रण तथा सडक निर्माणको काम युद्धस्तरमा अगाडि बढिरहेको बताउनुभयो । नारायणी र राप्ती नदीको तटमा सडक निर्माण गरी नदीको कटान नियन्त्रण तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने आफ्नो सोच रहेको उहाँले बताउनुभयो ।

कृषिप्रधान मुलुक नेपालमा कृषि उपजको उत्पादन गर्दै नेपालीलाई आत्मनिर्भर बनाउन सकिने उहाँले बताउनुभयो । तीन दिनदेखि गृहजिल्लामा पाण्डे विभिन्न कार्यक्रममा व्यस्त हुनुहुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button