
पोखरा न्यूज सम्वाददाता । पोखरा ग्रैहापाटनमा कार्यालय रहेको नेलम्बो नेपालले कास्की जिल्ला अदालतलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । शुक्रबार अदालतमा पुगेर नेलम्बो नेपालका कार्यक्रम संयोजक किसन कोइरालाले कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड—१९ को बढ्दो संक्रमण र उच्चजोखिमको परिस्थितिलाई मध्यनजर गर्दै अदालतमा कार्यरत न्यायाधीश, कर्मचारी र सेवाग्राही समेतलाई सुरक्षित रहन सहज होस् भन्ने उद्धेश्यले स्वास्थ्य सामाग्री प्रदान गरिएको संयोजक कोइरालाले बताउनुभयो । आगामी दिनमा समेत अदालतलाई सहयोग गर्ने उहाँको प्रतिवद्धता थियो ।

स्वास्थ्य सुरक्षा सामाग्रीमा ज्वरो नाप्ने थर्मल गन, स्यानिटाइजर स्ट्याण्ड, स्यानिटाइजर, डिस्पोजेबल मास्क, केएन ९५ मास्क, ग्लब्स, स्प्रे बोतल रहेका छन् ।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै न्यायाधीश श्रीकृष्ण भट्टराईले नेलम्बो नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो । अदालतमा सेवाग्राहीको रुपमा ठुलो संख्यामा सर्वसाधरण पुग्ने गरेको तथा झण्डै एक सयको हाराहारीमा कर्मचारी कार्यरत रहेकोले जोखिममा काम गर्न बाध्य भएपनि प्रदान गरिएका स्वास्थ्य सुरक्षा सामाग्रीका कारण केही सहजता हुने बताउनुभयो ।
पोखरामा रहेको नेलम्बो नेपालले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा विगत ४ वर्षदेखि काम गर्दै आएको छ । नेलम्बो नेपालले कास्कीका विभिन्न ठाउँमा स्वास्थ्य सुरक्षा, औषधी र खाद्यान्य सामग्री वितरण गरेको नेलम्बो नेपालका हेल्थ प्रमोशनल अफिसर निर्मला देवकोटाले जानकारी दिनुभयो । अदालतका स्रेस्तेदार दीपेन्द्रनाथ योगीले प्राप्त स्वास्थ्य सुरक्षा सामाग्रीको भरपुर उपयोग गर्ने बताउनुभयो ।





