सरकार नयाँ सङ्कल्पका साथ आएको हो – प्रधानमन्त्री दाहाल

काठमाडौँ, ५ भदौ –

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार विकास निर्माण र मुलुकको समृद्धिका लागि केही नयाँ काम गर्ने सङ्कल्पका साथ गठन भएको बताउनुभएको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयको दशौँ स्थापना दिवस एवम् वार्षिक प्रतिवेदन सार्वजनिकीकरण समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले सुशासन, जनताप्रतिको जिम्मेवारी र उत्तदायित्व, प्रशासनिक पारदर्शीताका लागि नयाँ जमर्को गरेको बताउनुभयो । उहाँँले भन्नुभयो, “राज्यलाई गतिशील बनाउन निजी क्षेत्र र सरकारबीच साझेदारीका साथ नयाँ आयाम थप्नु छ, बाधा हुने कुनै पनि कानुन परिमार्जन गर्न सरकार तयार छ ।”

संविधानलाई आम नेपालीको स्वीकार्यता बनाउन प्रक्रिया अघि बढेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “संविधान कार्यान्वयनमा अघि बढ्दा हिजोका भन्दा हाम्रा काम बढी प्रभावकारी भएमात्रै परिवर्तनको मापन हुन्छ ।” उहाँले सबै सरकारी निकायलाई आफैँले निर्धारण गरेका लक्ष्य पूरा गर्न प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकले मुलुकको समृद्धि र जनताको उन्नति गर्नु नै वर्तमान सरकारको साध्य भएकाले त्यो प्राप्त गर्न आर्थिक क्रान्ति आवश्यक छ भन्नुभयो । आर्थिक अनुशासन र पारदर्शिताबिना आर्थिक क्रान्ति सफल हुन नसक्ने धारणा राख्दै उहाँले भन्नुभयो, “गुणस्तरीय निर्माण र समयमा काम गर्ने कुरामा कसैले पनि सम्झौता गर्नु हुँदैन ।”

सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीले सरकारी निकायका अधिकांश बेरुजु खरिदसँग सम्बन्धित भएकाले यसलाई नियन्त्रण गर्न खरिद प्रक्रियाको प्रारम्भदेखि नै ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले कानुनको अधिकतम् पालना गर्दा धेरै समस्या समाधान भएर जाने विचार व्यक्त गर्नुभयो ।

कार्यालयका सचिव रमेशकुमार शर्माले सरकारले अनलाइन विद्युतीय खरिद प्रणाली सुरु गरिसकेको जानकारी गराउँदै कार्यालयले वर्षभरि गरेका कामको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ अध्यक्ष पशुपति मुरारका, नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचन, परामर्शदाताको सङ्गठन (स्काफ) का अध्यक्ष राजेश थापा र कार्यालयका सहसचिव नरेशकमार चापागाईंले सरकारी नीति विकास निर्माणमैत्री हुनुपर्ने धारणा राख्दै सार्वजनिक खरिद प्रक्रियामा देखिएका चुनौतीका बारेमा सुझाव दिनभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button