
अनिता घिमिरे । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनकालागि आव्हान गर्नुभयो । प्रदेश प्रमुखले सरकार गठनकालागि दिएको समय आज बेलुकी ४ बजे सकिदैछ ।
नयाँ सरकार गठनकालागि प्रदेशका प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादीले राष्ट्रिय जनमोर्चाको साथ लिएर गठवन्धन सरकार बनाउन पहल गरेका छन । कांग्रेसको नेतृत्वमा सरकार गठनमा जुटेका छन् । सरकार गठनमा निर्णायक रहेको जनमोर्चाका सांसदहरु एकमत नहुँदा गठवन्धनको सरकार नबन्ने पक्का जस्तो देखिएको छ । जनमोर्चाका सांसद कृष्ण थापाले गठवन्धनलाई सहयोग नगर्ने बताएका छन् । पार्टीको निर्णय विपरित आफू खुशी निर्णय लिएको भन्दै सांसद थापालाई स्पष्टीकरण समेत सोधेको छ । तर उनी केहीबेर अघि हस्ताक्षर नगरी बाग्लुङतर्फ लागेको बताएका छन् ।
प्रदेशमा ६० सांसद छन् । सरकार गठन गर्न ३१ सांसदकाे मत चाहिन्छ । प्रदेशमा एमालेका २७ , कांग्रेसका १५, माओवादीका सभामुख सहित १२ , जनमोर्चाका ३ , जसपाका २ र १ स्वतन्त्र सांसद राजिव गुरुङ रहेका छन् । स्वतन्त्र सांसद गुरुङको एमालेलाई समर्थन रहेको छ भने उहाँ युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ ।
प्रदेश प्रमुख पौडेलले आह्वान गरेको तीन दिनभित्र नेपालको संविधानको धारा १६८ (२) अनुसार गण्डकीमा नयाँ सरकार नबने एमालेका नेता पृथ्वीसुब्बा गुरुङ संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बन्नुहुनेछ । तर, ३० दिनभित्र उहाँले विश्वासको मत लिनुपर्ने हुन्छ ।





