
तिलु शर्मा पौडेल, दोहा कतार। कतार सरकारको आधिकारिक निकायमा दर्ता भई आधिकारिकता प्राप्त गरेको एक मात्र सङ्घ नेपाली व्यवसायी सङ्घ कतारले आफ्नो वेबसाइट www.nbaqatar.com सुचारु गरी आफूलाई प्रविधि मैत्री बनाएको छ ।
सङ्घका अध्यक्ष महेन्द्र चौलागाईंको सभापतित्व तथा कतार स्थित नेपाली राजदूतावासका राजदूत डा. नारदनाथ भारद्वाजको प्रमुख आतिथ्यतामा भर्चुअल कार्यक्रम मार्फत वेबसाइटको शुभारम्भ गरिएको हो। सङ्घका उपाध्यक्ष नरेन्द्र भाटको स्वागत मन्तव्य सहित सुरु भएको कार्यक्रममा प्रमुख अतिथि भारद्वाजले दीप प्रज्वलन सहित उक्त वेबसाइट क्लिक गरी शुभारम्भ गर्नु भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. भारद्वाजले २ वर्षको अथक प्रयास बाट कतारमा वैधानिकता प्राप्त गरेको प्रति खुसी व्यक्त गर्नु भयो । यसले नेपालका विकाश निर्माण र परियोजना सङ्घ कसरी जोड्न सकिन्छ भनेर अनुसन्धान गरिरहेको जानकारी पाउँदा आफू खुसी रहेको बताउँदै भारद्वाजले कोरोना महामारीले आक्रान्त पारिरहेको गम्भीर परिस्थितिमा समेत यहाँहरूले व्यवसायी यात्रालाई फलदायी बनाउँदै लैजानु भएको छ, कतार सरकारले यो विषम परिस्थितिमा पनि हाम्रा व्यवसायीलाई सघाउ हुने वातावरण निर्माण गरेको छ, यो हाम्रो हाम्रो लागि अवसर हो।

नेपालले कतारमा कृषि उत्पादन निर्यात गर्न सक्ने र कतारबाट रासायनिक मल आयात गर्न सक्ने प्रचुर सम्भावना रहेको बताउँदै भारद्वाजले आफूले यहाँको सम्बन्धित मन्त्रालयका मन्त्रीहरू सँग भेटवार्ताको क्रममा उहाँहरूबाट कतारमा कृषि उत्पादनलाई सहज आयात र रासायनिक मल निर्यात गर्न सकिने आश्वासन पाएको बताउँदै , व्यवसायीहरूले परियोजना लिएर आए नेपालले बङ्गलादेशबाट आयात गरिरहेको भन्दा आधा मूल्यमा कतारबाट रासायनिक मल आयत गर्न सकिने जानकारी दिनु भयो ।
सभापति चौलागाईंले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सङ्घलाई मार्ग निर्देशन तथा साथ सहयोग दिँदै डोराउने सम्पूर्ण व्यवसायीहरू प्रति कृतज्ञता व्यक्त गर्दै प्रवासमा रहेर व्यवसाय गर्ने क्रममा आई पर्ने विभिन्न उल्झनलाई सहजीकरण गर्ने र सम्पूर्ण व्यवसायीहरूलाई एकीकृत गर्दै मर्यादित र सफल व्यवसाय निमार्ण गर्दै दीर्घकालीन आम्दानीको श्रोतलाई समेत सुनिश्चित गर्ने उद्देश्यका साथ यहाँहरूकै जोड बल र एकतामा यो सङ्घको स्थापना गरेको बताउनु भयो ।
कार्यक्रममा नेपाली राजदूतावास कतारका निवर्तमान राजदूत प्राध्यापक डा. रमेश प्रसाद कोइराला, नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेश काजी श्रेष्ठ, सङ्घका प्रमुख सल्लाहकार टी बि कार्की, द इन्स्टिच्युट अफ ईञ्जिनिरिङ्ग इन्डियाका कतार च्याप्टरका अध्यक्ष इन्जिनियर अब्दुल सतार, इन्डियन व्यवसायी सङ्घका उपाध्यक्ष शेजी भालियाक्थ लगायतले सम्बोधन गर्दै सङ्घले मैत्रीपूर्ण यात्राको तय गरेको मा बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएकाे छ ।
सङ्घका महासचिव रमेश भट्टले सहजीकरण गरेको कार्यक्रमका वक्ताहरूले नेपाल सरकारले नेपाली व्यवसायीलाई श्रम स्वीकृतिका नाममा झन्झटिलो र अवैज्ञानिक व्यवस्था गरेको प्रति दुख व्यक्त गर्दै व्यवसायी यात्रामा सहजता ल्याइदिन नेपाल सरकारलाई आग्रह समेत गर्नुभएकाे छ ।





