राष्ट्रपतिद्वारा भोलिसम्मको समय तोकेर वैकल्पिक सरकार गठनका लागि आह्वान

पोखरा न्यूज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएको भन्दै राष्ट्रपति भण्डारीलेले संविधानको धारा (५) अनुसार सरकार गठनका को आह्वान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले २१ घण्टाको समय सिमा तोकेर शुक्रबार साँझसम्म विश्वासको मत प्राप्त गर्ने आधारसहित सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

“राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा सबै भन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेताको हैसियतमा माननीय श्री केपी शर्मा ओलीज्यूलाई मिति २०७८/१/३० गते प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएकोमा उहाँले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम तीस (३०) दिन भित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेमा हाल विकसित राजनीतिक परिस्थितिमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको मौजुदा सरकारलाई विवासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको, मिति २०७८/१/२७ भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनको लागि मार्ग प्रशस्त गर्न उपयुक्त देखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रकृया आरम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८/२/६ मा निर्णय भएको र सो बमोजिम प्रधानमन्त्री नियुक्ति प्रकृया आरम्भ हुन सम्माननीय प्रधानमन्त्रीज्यूबाट अनुरोध भई आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ,” राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारले बिहीबार नै विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था देखाउँदै ७६(५) अनुसार सरकार गठनका लागि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button