प्रविधिमैत्री पुस्तकालयको विकास गर्नुपर्छ – मन्त्री पौडेल

काठमाडौँ, १५ भदौ –

शिक्षामन्त्री धनिराम पौडेलले विज्ञान र प्रविधिको विकाससँगै प्रविधिमैत्री पुस्तकालयको विकास गर्नुपर्ने बताउनुभएको छ ।

नवौँ पुस्तकालय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले पुस्तकलाई सुरक्षित बनाउन त्यसलाई सफ्टवेयरमा विकास गर्नुपर्नेमा जोड दिँदै ज्ञानको फैलावट गर्न पुस्तकालयको महत्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “पुस्तकालय ज्ञानको असीमित भण्डार हो, ज्ञानको दायरा विश्वव्यापी रुपमा फैलिएको हुन्छ । त्यसैले पुस्तकलाई दिगो र भरपर्दो बनाउन प्रविधिमा ध्यान दिनुपर्छ ।”

नेकपा (संयुक्त) का अध्यक्ष गणेश साहले देशमा सबै जनताको पहुँचमा पुग्ने गरी पुस्तकालय विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

निमित्त शिक्षा सचिव डा डिल्लीराम रिमालले सभ्यताको प्रतीक तथा ज्ञानको थलोका रुपमा पुस्तकालय स्थापित भएको बताउँदै सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यबाट देशभर पुस्तकालयको विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, सिटीइभिटीका उपाध्यक्ष डा कुलबहादुर बस्नेत, रिड नेपालका प्रतिनिधि चिनकाजी श्रेष्ठ, पुस्तकालय विकासका अभियन्ता अशोक थापा, दशरथ मिश्रलगायतले पुस्तकालयको विकासका लागि आवश्यक कानुन निर्माण गर्नुपर्नेमा जोड दिँदै सफल पुस्तकालयको हुनका लागि सदस्य सङ्ख्या क्रमिकरुपमा बढाउँदै जानुपर्ने विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा पुस्तकालयको विकासमा योगदान गरेका विभिन्न सङ्घ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो ।

विसं २०६५ देखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउन थालिएको छ । यस वर्षको नारा ‘जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय’ भन्ने रहेको छ । अहिले देशभर करिब ४० हजार पुस्तकालय रहेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button