संविधान सर्वस्वीकार्य बनाउने सरकारको प्राथमिकता – प्रधानमन्त्री दाहाल

लहान, २७ भदौ –

प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधनमार्फत संविधानलाई सर्वस्वीकार्य बनाई त्यसको कार्यान्वयन गर्नु वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)द्वारा सिरहाको मिर्चैयामा आज आयोजित जनसभालार्ई टेलिफोनमार्फत सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले मधेसीलगायत उत्पीडित वर्ग, जाति, क्षेत्रको अधिकार संविधान संशोधनमार्फत स्थापित गर्न सरकारले तयारी गरिरहेको बताउनुभयो । वर्षाका कारण कार्यक्रममा आउन नसकेपछि प्रधानमन्त्री दाहालले टेलिफोनमार्फत सम्बोधन गर्नुभयो ।

उहाँले भारत भ्रमण अघि नै संशोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउने चाहना हुँदाहुँदै पनि त्यो तत्काल सम्भव हुन नसकेको बताउँदै भारत भ्रमणबाट फर्किएलगत्तै संविधान संशोधन प्रक्रिया अगाडी बढाउने प्रष्ट पार्नुभयो ।

आफू चुनौतिपूर्ण अवस्थामा प्रधानमन्त्री भएकाले आन्तरिक राष्ट्रियतालाई बलियो बनाउने काममा सरकार लागिपरेको उल्लेखगर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, – आफूले मधेसको समस्यालाई राम्ररी बुझेकाले संविधान संशोधनमार्फत मधेसको माग सम्बोधन हुन्छ ।

उहाँले मधेसबाट चुनाव जितेकाले मधेसप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको प्रसङ्ग उल्लेख गर्दै हुलाकी राजमार्ग निर्माणको कामलाई सरकारले तिव्रता दिएको बताउनुभयो । “हुलाकी मार्गको पहिलो चरणको काम अन्तिम अवस्थामा छ”–उहाँले भन्नुभयो, “भारत भ्रमणका क्रममा हुलाकी मार्गका बारेमा पनि भारतीय पक्षसँग छलफल हुन्छ ।”

दोस्रो पटक प्रधानमन्त्री भएपछि मधेसका जिल्लामा आउने आफ्नो तीव्र इच्छा भए पनि प्रतिकूल मौसमका कारण आउन नसकिएकोमा आफूलाई नमिठो लागेको बताउँदै प्रधानमन्त्री दाहालले भारत भ्रमणबाट फर्किपछि मधेसको जिल्लामा आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो सभामा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य तथा २ नं प्रदेश ईञ्चार्ज मातृका यादवले मधेस र पहाडका जनतालाई जोड्ेर आन्तरिक राष्ट्रियतालाई बलियो बनाउन सकिएमात्र मुलुक सम्बृद्ध हुने बताउनुभयो ।

केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहालले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको हुँदा बिहानैदेखि वर्षाका बाबजुद पनि सिरहासहित सप्तरी, धनुषा, महोत्तरी र सर्लाहीबाट ठूलो सङ्ख्यामा माओवादी नेता कार्यकर्ता तथा शुभेच्छुकको मिर्चैया आएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button