काठमाडौँ, २७ भदौँ –
भारतको विहार र उडिसा आसपासमा न्यूनचापीय क्षेत्रको विकासका कारण नेपालको मौसममा खराबी आएको छ ।
उक्त प्रणालीको प्रभावका कारण देशभर मौसममा बदलीसँगै भारी वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यूनचापीय क्षेत्र पनि नेपाल नजिक भएकाले जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेका कारण मौसममा खराबी आएको मौसमविद् शान्ति कँडेलले राससलाई जानकारी दिनुभयो । आइतबार सुरु भएको प्रणालीको असर मङ्गलबार रातिसम्म रहने र बुधबारदेखि क्रमिक रुपमा सुधार आउने उहाँको भनाइ छ ।
“आज काठमाडौँ आसपास र पूर्वका अधिकांश भेगमा बदलीसँगै भारी वर्षात् भएको छ, तुलनात्मक रुपमा पश्चिममा कम छ, बदली र वर्षा निरन्तर नभएपनि यो प्रणाली भोलि मङ्गलबार दिनभर जारी रहन्छ”– मौसमविद् कँडेलले भन्नुभयो ।
आज सबैभन्दा बढी काठमाडौँमा ५६.५, सिमरामा ३१, पोखरामा २३, डडेल्धुरा र धनगढीमा ३५।७ मिलिमिटर वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि, आइतबार राति सबैभन्दा बढी काठमाडौँमा ६७, ताप्लेजुङमा ५८, ओखलढुङ्गामा ४३ र डडेल्धुरामा ४१ मिलिमिटर वर्षात् भएको थियो ।
महाशाखाको विवरणअनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २१।४ र न्यूनतम १९।७ डिग्री सेल्सियस रहेको छ । रासस





