‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने गिरोह जेल चलान

भक्तपुर, ३१ भदौ –

नगरकोट आएका दुई व्यक्तिलाई ‘प्रहरी हुँ’ भनेर डर, धम्की दिँदै लुटपाट गर्ने गिरोहलाई जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

डिल्लीबजार कारागार चलान हुनेमा रसुवा समरथली गाविस–९ घर भई काठमाडौं गोलढुङ्गा गाविस–८ भई तारकेश्वर बस्ने ३२ वर्षीय सुवास लागू भन्ने लागू ग्याल्बु घले र रामेछाप बिजुलीकोट गाविस–१ घर भई हाल काठमाडौं गोठाटार वीरेन्द्रचोकमा बस्ने २३ वर्षीय राजकुमार भन्ने अनिलकुमार खड्कालाई पुर्पक्षका लागि अदालतले जेल चलान गरेको हो ।

त्यसैगरी धादिङ सेतुङ गाविस–६ घर भई हाल काठमाडौं ३५ कोटेश्वर बस्ने ३२ वर्षीय मेनवीर तामाङ भने रु एक लाख २० हजार धरौटीमा छुटेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

गत साउन २२ गते दिउँसो २ बजे नगरकोट गएका काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने २९ वर्षीय नारायण कार्की र सन्जु कार्कीलाई निजले म नेपाल प्रहरी हुँ भन्दै कुटपिट र डरत्रास देखाइ लुटपाट गरेको अभियोगमा पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेकाले कार्कीद्वयका साथमा रहेको रु ३० हजार ७०० नगद, एक लाख २० हजार बराबरको सुनको सिक्री र औँठी लुटपाट गरेको अभियोगमा पक्राउ गरेको हो । निजले यसअघि पनि आफूलाई प्रहरी हुँ भन्दै अन्य व्यक्तिलाई ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button