पहिरोका कारण पोखरा-बागलुङ सडक अवरुद्ध

फलेवास (पर्वत) –

गएराति परेको मुसलधारे वर्षाका कारण पहिरो जाँदा पोखरा–बागलुङ राजमार्ग अवरुद्ध बनेको छ । वर्षाका कारण भूकम्पले चर्किएको पर्वतको तिलाहार गाविसस्थित मौरी भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । रातिदेखि नै अवरुद्ध बनेको सडक खुलाउनका लागि पहल भइरहेको र दिउँसोसम्म खुल्ने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

त्यस्तै पर्वतको पाङ गाविसस्थित सहस्रधारामा पनि सडक माथिबाट आएको पहिरोका कारण अवरुद्ध बनेको छ । सडक खुलाउनका लागि अहिले प्रहरी र डोजर परिचालन भएको जिल्ला ट्राफिक प्रमुख विकास तिमिल्सिनाले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा धौलागिरि अञ्चलका बागलुङ, म्याग्दी र पर्वतबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन ठाउँठाउँमा अलपत्र परेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button