
पोखरा न्यूज । पोखराको न्युरोडमा बाथ तथा प्रतिरक्षा सम्बन्धी उपचार सेवा प्रदान गर्ने उद्देश्यले मेघा हेल्थ केयर सञ्चालनमा आएको छ ।
मिडटाउन सिनेमाज रहेको भवनको पश्चिम तर्फ चार तले आफ्नै भवनमा बाथ तथा प्रतिरक्षा सम्बन्धी सम्पूर्ण उपचार सेवा प्रदान गर्ने उद्देश्यले हेल्थ केयर सञ्चालनमा ल्याइएको सञ्चालक, बाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ डा. रामकृष्ण गिरीले बताउनुभयो ।
बाथ तथा प्रतिरक्षा रोगका बिरामीहरू उपचारका लागि काठमाण्डौ जाने अवस्थाको अन्त्य गर्नकै लागी आफूहरूले पोखरामा मेघा हेल्थ केयर सञ्चालनमा ल्याएको डा. गिरीको भनाई छ । ‘पोखरामा बाथ तथा प्रतिरक्षा रोगबारे विशेषज्ञता हासिल गरेको एक मात्र डा. हुनुको नाताले पनि मैले यहाँका बिरामीलाई उपचार गर्न अन्यत्र जान नपरोस् भनेर नै कोभिडको महामारीकै समयमा यो हेल्थ केयर सञ्चालनमा ल्याउने अठोट गरेको हुँ’ , डा. गिरीले दावाका साथ भन्नुभयो ।
पोखरामा कहिलेकाहीँ काठमाण्डौबाट यस विषयका विशेषज्ञ डाक्टरहरू आउने गरेको भए पनि बिरामीहरूले यहीबाट स्थायी रूपमा उपचार सेवा लिन सकुन् भन्ने हेतुले आफूहरू अघि बढेको उहाँले बताउनुभयो । करिब दुई करोडको लगानीमा ल्याबको सम्पूर्ण सुविधासहित दशैंको अवसर पारेर सेवा सुचारु गरिएको डा . गिरीले उल्लेख गर्नुभयो ।
मेघा हेल्थ केयरमा बाथ रोगसँगै, सुगर, ग्यास्ट्रिक, मुटु रोग र फोक्सो सम्बन्धी समस्यामा उपचार सेवा प्रदान गरिने उहाँले बताउनुभयो । ‘फागुनबाट फोक्सो तथा क्रिटिकल केयर सम्बन्धी सेवा सुचारु गर्दै छौ’, डा. गिरीले भन्नुभयो, ‘ बाथ रोगसँगै, सुगर, ग्यास्ट्रिक, मुटु रोग र फोक्सो सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्ने हाम्रो लक्ष्य हो ।’
हेल्थ केयरमा प्रत्येक महिनाको चौथो शनिबार निसन्तान तथा बाझोपन विशेषज्ञ डा. आकृति भारतीले सेवा प्रदान गर्दै आएको डा. गिरीले जानकारी दिनुभयो ।
हाल मेघा हेल्थ केयरको ल्याबबाट भिडियो एक्स-रे, इको, ई सिजी, पिएफटी (मुटुको जाँच) लगाएतका जाँच हुने गरेको छ ।





