सशस्त्र युद्ध घोषणाको एक महिनामा बम विस्फोट

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२ को जागृतिटोलमा बम ल्याउने मान्छेबाट विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गएराति सुतली बम विस्फोट भएको थियो ।

दुई जना घाइते भएका छन् । विस्फोट घटना लगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा योजनाबद्ध ढंगले पहिले नै ल्याइ बम राखेर विस्फोट नगराएको पाइएको हो ।

प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरुणकुमार बिसीेले भन्नुभयाे, ‘बम राखेको भन्दा पनि लिएर आउने मान्छेबाट विस्फोट भएको देखिन्छ ।’

विस्फोटबाट २२ वर्षीय रवीन थापा र लम्जुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् ।

प्रहरीले उनीहरूलाई पनि निगरानीमा राखेको छ ।

डीआईजी बिसीले विस्फोटको घटनापछि प्रदेश मातहतका सबै प्रहरी युनिटलाई सतर्क रहन निर्देशन दिनुभएकाे छ ।

‘रातिको घटनाले हिमाल सुरक्षा परिषद्को गतिविधि बढ्यो भन्न त सकिँदैन । किनभने अन्य स्थानमा देखिएको छैन’, डीआईजी बिसीले भन्नुभयाे, ‘तर, बढी निगरानी राख्ने र प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी युनिटहरूलाई सतर्क रहन निर्देशन दिएका छौँ ।’

गत १५ फागुनमा परिषद्ले पर्चामार्फत सशस्त्र युद्धको घोषणा गरेको थियो ।

हिन्दु राष्ट्र घोषणा, राजतन्त्र स्थापना, संघीयता खारेजलगायत मुद्दा उठाउँदै युद्धको घोषणा गरेको थियो ।

घोषणा गरेको ठीक एक महिनामा विस्फोटको घटना भएको हो ।

घटनाको अनुसन्धानको क्रममा चन्दा असुल्न विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button