टेस्ट अफ हार्मोनीमा गुञ्जिदै गायिका दीपानारायण झा

पोखरेली गायिकाहरुको संस्था ‘हार्मोनी पोखरा’को आयोजनामा चौथो संस्करणको साङ्गीतिक कार्यक्रम ‘टेस्ट अफ हार्मोनी’ हुने भएको छ । पुस २९ गते शनिबार पोखरा सभागृहमा हुने पछिल्लो संस्करणको यो साङ्गीतिक कार्यक्रमको विशेष आकर्षणको रुपमा गायिका दीपानारायण झा रहने जनाइएको छ । ‘हार्मोनी’ले गायिका दीपा झाप्रति सम्मान प्रकट गर्दै चौथो संस्करणको आफ्नो कार्यक्रमको नाम नै ‘धुनहरुमा दीपानारायण झा’ राखेको हो ।

सदावहार गायिकाको छवि बनाएकी दीपानाराण झाले हार्मोनी पोखराको यो साङ्गीतिक कार्यक्रममा आफ्ना पुराना गीतहरु प्रस्तुत गर्ने जनाइएको छ । “पोखरेली संगीतप्रेमीहरुका लागि यो निकै गज्जब र उत्साहपूर्ण कुरा हो । विशेषगरि पोखरेली गायिकाहरुका लागि यो विशेष कार्यक्रमले झन् ठुलो अर्थ राख्नेछ ।” हार्मोनी पोखराकी अध्यक्ष ईतु जोजिजुले थपिन्, “समग्र पोखराको लागि पनि यो साङ्गीतिक कार्यक्रम फलदायी हुने कुरामा हामी ढुक्क छौँ ।’

दीपानारायण झासँग स्टेज शेयर गर्दै उनले गाएका चर्चित सदावहार गीतहरु गाउने मौका पोखरेली गायिकाहरुले पाउनु भनेको ऐतिहासिक कुरा भएको जोजिजुले बताइन् । पुस २९ गते हुने साङ्गीतिक कार्यक्रममा दीपानारायण झासँगै पोखरेली गायिकाहरु ईतु जोजिजु, शितल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतिक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति श्रेष्ठले स्टेज शेयर गर्दै आफ्नो प्रस्तुती दिनेछन् ।

सो कार्यक्रममा विशेष सहयोगी गायकको रुपमा रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमुको प्रस्तुती रहने हार्मोनी पोखराले जनाएको छ । कुसुमे रुमाल, चिया बारीमा, ईशाराले बोलाउनु पर्दैन, मोहनी माया, उकालीमा अघि अघि, सम्झना बिर्सना लगायतका दीपानारायण झाले गाएका थुप्रै गीतहरु सो कार्यक्रममा प्रस्तुत गरिने आयोजकले बताएको छ ।

खासगरि साङ्गीतिक क्षेत्रमा महिलाहरुको पनि बलियो उपस्थिति देखाउन ‘हार्मोनी पोखरा’को स्थापना भएको संस्थापकको भनाई छ । संस्थाले गठन भएसँगै विभिन्न साङ्गीतिक कार्यक्रमहरु समेत गरिसकेको छ । यसअगाडि ‘लेजेन्डरी हार्मोनियस इभिनिङ’, ‘टेस्ट अफ हार्मोनी’ र ‘धुनहरुमा तारादेवी र अरुणा लामा’ गरि संस्थाले तीन संस्करणका विशेष साङ्गीतिक कार्यक्रमहरु सफल रुपमा प्रस्तुत गरिसकेको छ ।

गायिकाहरुको एकतासँगै नयाँ पुस्ताका गायिकाहरुको लागि प्लेटफर्म तयार गर्न पनि यो संस्था विशेष रुपमा सकृय रहँदै आएको छ । गायिकाहरुको क्षेत्रमा विशेष ध्यान दिएर काम गर्ने संस्थाले यो बीचमा थुप्रै सम्मान तथा पुरस्कारहरु पनि पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button