
पोखरा । लेखनाथ पत्रकार मञ्चले आफ्नो आठौं स्थापना दिवस एक कार्यक्रमका बीच मनाएको छ । पृथ्वी राजमार्गको अर्घौँचोकमा अवस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको प्रतिमामा माल्यार्पण एवम् सरसफाई गर्दै मञ्चले स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा अर्घौँबजार ब्यवस्थापन समितिका अध्यक्ष टिकाराम सापकोटाले कवि शिरोमणिकै नाम जोडेर स्थापित मञ्चका कामहरू उहाँप्रति उच्च सम्मान र साहित्यिक क्षेत्रको योगदानलाई थप टेवा पुग्ने गरी गर्नुपर्ने आवश्यकता औंल्याए ।
मञ्चका सल्लाहकार वासुदेव पौडेलले कविशिरोमणि लेखनाथ पौड्यालको अर्घौंँचोकस्थित शालिकको विशिष्ट महत्व रहेको बताउँदै सडक विस्तारका क्रममा यसको विशेष संरक्षण गरिनुर्नेमा जोड दिए । बृहत् पोखराका नाममा लेखनाथ क्षेत्र पोखरा महानगरपालिकामा समेटिएका अवस्थामा कतै यो क्षेत्र ओझेलमा पर्ने होकी भन्ने भन्ने चासो र चिन्ता बढिरहेको उनले बताए ।
मञ्चका अध्यक्ष कविराज खनालको अध्यक्षता एवम् सचिव विष्णुहरि पौडेलले सञ्चालन गरेको कार्यक्रममा लेखनाथ क्लवका अध्यक्ष बालगोपाल श्रेष्ठ, मञ्चका निवर्तमान अध्यक्ष भीमपाणि बराल, सल्लाहकार सन्दिप पौडेल लगायतले आगामी दिनमा लेखनाथ क्षेत्रको उन्नयनका लागि कलम चलाउनुपर्नेमा जोड दिएका थिए ।
कवि शिरोमणि लेखनाथ पौड्यालको नाममा साविक लेखनाथ नगरपालिका क्षेत्रमा रही यस क्षेत्रको उन्ननयमा पत्रकारिताका माध्यमबाट योगदान गर्ने सञ्चारकर्मीको साझा संस्थाका रुपमा २०६७ साल पुस २१ गते मञ्चको स्थापना भएको हो ।
स्थापित मञ्च वि.सं २०७३ मंसिर ३० गते विधिवत् जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको दिनलाई स्थापना दिवसका रुपमा मनाउँदै आइएको छ ।
यसैबीच मञ्चले हरेक वर्ष पुस १५ गते कवि शिरोमणिको जन्मजयन्तीका अवसर पारेर प्रदान गरिने लेखनाथ पत्रकारिता पुरस्कारको प्रतिभा छनोटका लागि समिति गठन गरिएको छ ।
मञ्चका अध्यक्ष कविराज खनालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, मञ्चका निवर्तमान अध्यक्ष भीमपाणि बराल, सचिव विष्णुहरि पौडेल र सल्लाहकार वासुदेव पौडेल रहेका छन् ।





