नेपालमै पहिलो पटक भएको आयोजकको दाबी,
पोखरा-
पोखरामा मिस्टर एण्ड मिस हस्पिटालिटी २०१७ हुने भएको छ ।
चैत्र २६ गते पोखराको पाँचतारे होटलमा विजेता घोषणा गरिने भनिएको उक्त प्रतियोगिताको आयोजक एपि इन्टरटेन्मेन्ट रहेको छ । आयोजक एपि इन्टरटेन्मेन्टले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको वारेमा जानकारी दिदै नेपालमै पहिलो पटक हस्पिटालिटि इण्डस्ट्रिज फिल्डका सहभागीहरुलाई लिएर प्रतियोगिता गर्न लागेको बताएको हो ।
प्रतियोगिताको पुरस्कार राशी ७५ हजार रुपैयाँ रहेको र उक्त प्रतियोगिता संचालन गर्न कुल दस लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ । नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानी छ । नेपालको सुन्दरता सँगै पर्यटनलाई आकर्षण गर्न हस्पिटालिटिले पनि महत्वपूर्ण स्थान राख्छ । अतिथि सत्कारका विषयमा पनि केही सकारात्मक सन्देश जाओस् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए ।
अन्य ब्युटि प्याजेन्ट भन्दा फरक रहेर होटल म्यानेजमेन्ट कोर्षको आधारमा प्रतियोगिता गर्न लागेको संयोजक शैलेस शाहीले बताए । कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले मूख्य प्रायोजन गरेको उक्त प्रतियोगिताका विजेतासँगै टप टेनमा परेका प्रतियोगिहरुको रोजगारीको ब्यबस्था गरिएको पनि उनले जानकारी दिए ।
प्रतियोगिहरुलाई होटल म्यानेजमेन्ट कोर्षको आधारमा हस्पिटालिटीका पायोनियरहरुले करिब २२ दिन ट्रेनिङ्ग दिने र नतिजाका लागी अंक पनि त्यहि आधारमा दिने शाहीले बताए ।