
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले दोहोरो नेपाली नागरिकता लिएको आरोपमा एक व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरीलाई बुझाएको छ।
साविक रुकुम जिल्ला, कोल गाविस वडा नं. १ का जितबहादुर पुनका छोरा हिताधन पुनले फरक–फरक विवरण प्रयोग गरेर दुई पटक नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि प्रशासनले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पुनले पहिलो पटक जिल्ला प्रशासन कार्यालय रुकुमबाट मिति २०४७/११/२९ मा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। सो समयमा उनले आफ्नो वास्तविक नाम, जन्ममिति, जन्मस्थान, स्थायी ठेगाना तथा बाबुको नामसमेत फरक विवरण उल्लेख गरेको पाइएको जनाइएको छ।
त्यसपछि उनले पुनः फरक विवरण प्रयोग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीबाट २०५८/०१/२० मा अर्को नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सहायक प्रजिअ बरालले जानकारी दिए।
यस विषयमा अनुसन्धान गर्दा दोहोरो नागरिकता लिएको पुष्टि हुने आधार भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको हो। थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको प्रशासनले जनाएको छ।





