
पोखरा। पोखरा महानगरपालिका -३० शिशुवादेखि शिसाघाटसम्मको सडक खण्ड अन्तर्गत शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत निर्मित उक्त सडकको मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख आचार्यले विकास साझेदारहरूको लगानी र परियोजना सञ्चालनका लागि पोखरा प्राथमिकतामा रहेको बताए । ‘हामी आइसकेपछि नेपालमा जति पनि विकास साझेदारहरू छन्, ती सबै पोखरामा आएका छन्,’ मेयर आचार्यले भने, यो साना दुखले भएको चिज होइन, आज गएर ल हामीलाई यो गर्दिनुस् न भनेर भोलि पल्ट भएको पनि होइन।‘
शिशुवाचोकदेखि खुदिखोलासम्मको सडक निर्माण सम्पन्न गरेको विश्व बैङ्क कै सहयोगमा उक्त सडकको दोस्रो चरण समेत निर्माण कार्य अगाडी बढ्ने अपेक्षा उनले व्यक्त गरे । पोखरामा हाल ३३ अर्ब बढीका परियोजनाहरू सञ्चालन रहेको मेयर आचार्यले बताए ।
आयोजनाका फोकल पर्सन इ.नवीन गौतमका अनुसार शिशुवादेखि खुदी खोला पुलसम्मको करिब ४.१४ किलोमिटर सडक निर्माण भएको हो । विश्व बैङ्कको ३४ करोड ११ लाख २० हजार दुई सय ९५ रुपैयाँ आर्थिक सहयोगमा सडक निर्माण भएको हो । सडक नालीसहित १५ मिटर डबल लेन, ७ मिटर सपोट बाटो, १.५ मिटर साइकल ट्र्याक र २.५ मिटर फुट ट्र्याक रहेको छ ।





