
पोखरा । पोखरामा ग्याङ फाइटमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवतीसहित ६ जनालाई पक्राउ गरेको छ ।
सामाजिक संजालमा ग्याङ फाइट गरेको भिडियो सार्वजनिक भएपछि गरिएको अनुसन्धानका आधारमा उनीहरु पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा पोखराको बाँझपाटन बस्ने २७ वर्षीय सुजन आले मगर, सोही ठाउँ बस्ने २३ वर्षीय राजेश परियार, गोरखा घर भई बाँझपाटन बस्ने ३० वर्षीय दीपेश भनिने दिलेराम गुरुङ, नुवाकोट घर भई बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय सुजन तामाङ तथा २५ वर्षीय राजकुमार तामाङ र बाग्लुङ बसपार्क कि २० वर्षीया लिजा पुन छन् ।
वैशाख २२ गते राति साढे ९ बजेतिर पोखराको बाग्लुङ बसपार्कमा ग्याङ फाइटमा संलग्न रहेका उनीहरुलाई खोजी गरेर पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डीएसपी हरि बहादुर बस्नेतले जानकारी दिए।
डीएसपी बस्नेतका अनुसार शनिबार जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बाझाँपाटन र बाग्लुङ बसपार्क क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
झै–झगडाको मुख्य कारण लागुऔषध रहेको प्रहरीले जनाएको छ ।





