
पोखरा । कास्की प्रहरीले पोखराको रानीपौवाबाट लागूऔषध तथा एसएलआर हतियारको गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार तथा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले लम्जुङ क्व्होलोसोथार –९ घर भई पोखरा –११ रानीपौवा बस्दै आएका २६ वर्षीय सागर थापा मगरलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, डिएसपी, हरी बहादुर वस्नेतका अनुसार लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले सोमबार दिउँसो साढे ३ बजे विशेष अप्रेसन सञ्चालन गरेको थियो।
अप्रेसनका क्रममा सागरको कोठामा खानतलासी गर्दा ट्रामाडोल ५० एमजी लेखिएको ८२ चक्की ट्याब्लेट, टपेन्टाडोल १०० एमजी लेखिएको १४ चक्की ट्याब्लेट, एक थान मोबाइल र एसएलआर हतियारको जंगी लाइभ राउण्ड गोली १ थान बरामद भएको डिएसपी हरी वस्नेतले जानकारी दिए।
प्रहरीले उनलाई लागूऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।





