
पोखरा । पोखरामा एक माइक्रोबसले क्षमताभन्दा धेरै यात्रु बोकी केही यात्रुलाई ढोकामा समेत झुण्डिएर यात्रा गराएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सम्बन्धित चालकलाई प्रहरीले कारवाही गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार सामाजिक सञ्जालमा भाइरल भएको भिडियोको आधारमा जोखिमपूर्ण ढंगले यात्रु ओसारपसार गराउने ग१ज ६३८६ नम्बरको माइक्रो चालकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको हो।
ट्राफिक प्रहरीले सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्नु तथा ढोकामा झुण्डिएर यात्रा गराउनु गम्भीर लापरबाही र दुर्घटनाको उच्च जोखिम निम्त्याउने कार्य भएकाले यस्ता गतिविधिमा संलग्न हुने चालक तथा सवारीसाधनमाथि कडा निगरानी र कानुनी कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।
प्रहरीले यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै जोखिमपूर्ण यात्रा नगर्न तथा यस्ता गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ।





