
पोखरा, ३ असोज :
विप्लव नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको बन्दको प्रभाव पोखरा र आसपासका क्षेत्रमा पनि बिहानैदेखि परेको छ । नयाँ संविधानको विरोधमा आह्वान गरेको बन्दका कारण पोखरामा सवारी साधन चलेका छैनन । स्कुल, कलेज, पसल कलकारखाना पनि पूर्ण रुपमा ठप्प छन । त्यस्तै पर्यटक र कुटनितिक नियोगका सवारी साधन पनी सञ्चालन भएका छैनन ।
यसैबीच, लेखनाथ बाट पाच बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बिहानै बन्द गराउँदै हिंडेका बन्दकर्ता अखिल क्रान्तिकारी कास्कीका उपाध्यक्ष आश गुरुङसहितका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बन्दमा एम्वुलेन्स, प्रेस, मानवअधिकार तथा अत्यावश्यक सामग्री बोक्ने सवारी साधनलाई छुट दिईने नेकपा माओवादीका तमुवान ईञ्चार्ज सावित्री दुराले जानकारी दिईन् ।
उता बन्दको अवज्ञा गरेको भन्दै तनहुँको घाँसीकुवामा बन्दकर्ताले एउटा ट्रकमा आगजनी गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले घाँसीकुवामा चालकलाई बाहिर निकालेर ना १ क ३३ ६० नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।