लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

  • पोखरा न्यूज
  • २०७२ मंसिर ९
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

पोखरा, ९ मंसिर-

“घर शान्ती नै विश्व शान्तीको आधार, पुनर्निमाण, शिक्षा र समान व्यवहार” भन्ने मुल नारका साथ आज बुधबार देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । यसै क्रममा पोखरामा पनि यो दिवसको पहिलो दिनमा सेतो रिवन र ब्रोसर वितरण सहित सचेतनामुलक रयालीको आयोजना गरिएको छ ।

जिरो किलोमिटरबाट सुरु भएको रयाली फिर्के, सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक, बुद्धचोक हुदैँ अमरसिंहचोकमा पुगेर सभामा परिणत भएको थियो । महिला तथा बालबालिका कार्यालय, इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय, महिला सशक्तिकरण नेपाल, बाल तथा महिला सशक्तिकरण समाज नेपाल, कोपिला नेपाल, राष्ट्रिय महिला अधिकार मञ्च, मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल, सिदार्थ क्लव, जिल्ला प्रहरी कार्यालय कास्की महिला तथा बालबालिका सेवा केन्द्रका प्रतिनिधि, सञ्चारकर्मीको सहभागीता रहेको रयालीमा समानताका लागि गरौँ समान व्यवहार, मानव बेचविखन बन्द गर, मान्छे बोक्सी हुदैँन कहिल्यै, सम्पत्तिमा समानता, लैङ्गिक हिंसा अन्त्य गरौँ लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो । रयालीको क्रममा ठाउँठाउमा सेतो रिवन र ब्रोसर वितरण गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै महिला तथा बालबालिका कार्यालयका प्रमुख लक्ष्मी जि.सीले जबसम्म महिला र बालिका सुरक्षित हुदैँनन् तबसम्म हिंसामा कमी नहुने बताउनुभयो । उहाँले हिंसा सहेर बस्न नहुने बताउँदै हिंसाको प्रतिकार गर्नुपर्नेमा जोड दिनुभएको थियो । राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रिय निर्देशक सम्झना शर्माले सम्पूर्ण महिलाहरुले आफ्नो अधिकार उपभोग गर्ने वातावरण नबने सम्म कुनै पनि घर, परिवार र समाज हिंसा मुक्त हुन नसक्ने बताउनुभयो । इन्सेकका क्षेत्रिय प्रमुख शिव खकुरेलले महिलाहरुको सहभागीता र उनीहरुको समानता विना मुलुक अगाडि बढ्न नसक्ने बताउँदै सबैले कुनै पनि हिंसा नगर्ने प्रण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कार्यक्रममा अधिवक्ता सरलाकुमारी पाण्डे र जिल्ला प्रहरी कार्यालय कास्की महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी नायव निरिक्षक गीता रानाभाटले पनि बोल्नुभएको थियो । महिला तथा बालबालिका कार्यालयका प्रमुख लक्ष्मी जि.सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अधिवक्ता तथा महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष सरिता थापाले गर्नुभएको थियो । सोही अवसरमा विद्यार्थीहरुले सचेतनामुलक सडक नाटक पनि प्रस्तुत गरेका थिए ।

महिला तथा बालबालिका कार्यालय, महिला मानब अधिकार रक्षक सञ्जाल, महिला उत्थान तथा जागरण केन्द्र, राष्टिय मानव अधिकार आयोग, एडभोकेसी फोरम, इन्सेक, शान्तिका लागी नागरीक समाजको सञ्जाल, क्रियाशील पत्रकार महिला समुह, सामी परीयोजना तथा जिल्ला बिकास समिती लगायत विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले १६ दिन भरी विविध कार्यक्रमको आयोजना गरि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने भएका छन् । अभियानलाई सम्पन्न गर्न लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मुल आयोजक समिति पनि गठन गरिएको छ ।

२५ नोभेम्बर देखी १० डिसेम्बरसम्म सञ्चालन हुने कार्यक्रमहरुमा पत्रकार सम्मेलन देखी डकुमेण्ट्री प्रदर्शनसम्म रहेका छन् । यसैगरी मंसिर १० गते बिहिबार कास्कीको लुम्ले, भदौरे, सैमराङ, मिजुरे, थुम्की र पोखराको वडा नं १ र ९ मा मानब बेचबिखन बिरुद्द अभिमुखीकरण तथा समिति गठन गरीने भएको छ । भने बाल तथा महिला हिंसा बिरुद्धको कार्यक्रमलाइ राजनीतिक दलका महिला तथा पुरुष प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख तथा महिला कर्मचारी र बिभिन्न डान्सबार, होटल तथा पार्लरहरुमा कार्यरत महिलाहरुका बिच अन्तरक्रिया र सरकारी स्कुलहरुमा महिला हिंसा बिरुद्धको नाटक प्रर्दशन गरीने कार्यक्रम रहेको छ । आसन, भाषन र शासनमा महिला छैन भने नोट अफ डिसेण्ट अभियानका बारेमा राजनीतिक दल तथा सरकारी निकायहरुमा ज्ञापन पत्र बुझाउने, पोखरा उपमहानगरपालीकाको वडा नं २६ र १९ मा संबिधान सभाद्धारा निर्मित नेपालको संबिधान २०७२ मा महिला अधिकार तथा सहभागीता बिषयक अन्तरक्रिया, लेखनाथ नगरपालिकामा महिला हिंसा बिरुद्ध कानुनी सचेतना र १६ दिने अभियानका सन्दर्भमा जिल्लास्तरीय अन्तरक्रिया र अन्तमा सामी परीयोजनाको सहयोगमा सुरक्षित आप्रबासन तथा लोकदोहारी गीत प्रतियोगीता कार्यक्रम गरी १६ दिने अभियानलाइ भब्य रुपमा मनाउँदै छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस