धौलीको पहिलो शो पोखरामा हाउसफुल

पोखरा, १० पौष –
श्रीमान् विदेश हुँदा नेपालमा बस्ने श्रीमतीहरुको पीडा के हुन्छ ? उसलाई समाजले कस्तो दृष्टिले हेर्छ । र, उसलाई गरिने व्यवहार कस्तो हुन्छ । यी र यस्तै कथा बुनिएको फिल्म ‘धौली’ शुक्रबारदेखि प्रदर्शन भएको छ । शुक्रबार पोखरामा भएको पहिलो दिनको ‘शो’ हरु हाउसफुल भएको निर्माताहरुले जनाएका छन् । राजधानी बाहिरका ४६ हलमा एकैसाथ रिलिज भएको धौलीको पहिलो दिनको कलेक्सनबाट आँफुहरु सन्तुष्ट भएको निर्माता शम्भु थापाले बताएका छन् ।
विदेश गएका श्रीमानको अत्तोपत्तो छैन । खबर केहि आउने हैन । अर्काको घरमा मजदुरी गरेर छोरा पाल्नुपर्ने बाध्यता भएको एउटी दलित महिला नै ‘धौली’ चरित्र हो । गीता अधिकारीले फिल्ममा ‘धौली’को भूमिका निभाएकी छन् । समाजको कथा बोक्ने यो फिल्मलाई लिएर अभिनेत्री गीता अधिकारी यतिबेला निकै आशावादी छिन्।
श्रीमान् विदेश भएको बेलामा अर्कैसँग माया प्रेममा फँस्ने ‘धौली’लाई त्यसपछि कस्ता बाधा र व्यवधान पर्छन् त ? यो कुरा थाहा पाउन भने फिल्म हेर्नैपर्ने हुन्छ । शुक्रबारदेखि चलेका् यो फिल्मको प्रचार सामाग्रीलाई दर्शकहरुले निकै रुचाएका छन् । काठमाडौँ उपत्यकामा अर्को शुक्रबारदेखि प्रदर्शनमा आउने यो फिल्मको व्यापारलाई लिएर यसका निर्माता र वितरकहरुले पनि राम्रै प्रक्षेपण गरेका छन् ।
अरु दुई नेपाली फिल्मसँग जुधे पनि यो फिल्ममा रहेको कन्टेन्ट, प्रचार सामाग्रीले पाएको हाईप र पछिल्ला दिनमा मौलिकता बोकेको फिल्मले गरेको गज्जबको व्यापारले गर्दा व्यवसायिक रुपमा यो फिल्मले अरुलाई उछिन्ने अनुमान फिल्मकर्मीहरु लगाउँछन् । शुक्रबारको पहिलो ‘शो’ मा भेटिएका कलाकार कुमार गुरुङले भने –‘दर्शकहरुको मायाले हामीलाई उत्साहित बनाएको छ । ’ ‘फिल्मको विषयवस्तु दर्शकले मन पराउने कुरामा हामी ढुक्क छौँ ।’ फिल्मका निर्देशक घनश्याम लामिछाने भन्छन्– ‘माउथ टु माउथ पब्लिसिटि बढ्नेमा कुनै दुईमत छैन । ’ उनले दर्शकहरुलाई एकपटक हलसम्म पुगेर धौली हेर्नका लागि आग्रह गरे । ‘धौली’ फिल्मको प्रचार सामाग्री देखेपछि विदेशबाट समेत माग बढेको र युएसए ,जापान ,युरोप लगायतका देशहरुमा पनि धौली फिल्म शो हुने पक्कापक्की भएको उनले जानकारी दिए ।
स्पाईनी ब्याबलर क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्ममा गीता अधिकारी, विष्णु गौतम, गजित विष्ट, अनु शाह, तेज गिरी, शम्भु थापा ,कुमार गुरुङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।