पोखरामा मापसे र लापसे गरी होहल्ला गर्ने पक्राउ

४ घण्टामा २३ जना समातिए

पोखरा । कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा मादक पदार्थ तथा लागूऔषध सेवन गरी होहल्ला गर्ने, झै–झगडा गर्ने र जुवाजन्य गतिविधिमा संलग्न २३ जनालाई पक्राउ गरेको छ।

कास्की प्रहरी प्रवक्ता  डिएसपी  हरि बहादुर वस्नेतका अनुसार सोमबार साँझ ६ बजेदेखि राति १० बजेसम्म ‘स्वीप अप्रेसन’ सञ्चालन गरी उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

पोखराका बगर, टुँडिखेल, बाग्लुङ बसपार्क, नदिपुर, तेर्सापट्टी, पर्स्याङ, हरिचोक, बाटुलेचौर, सराङकोट र लामाचौर क्षेत्रमा निगरानी बढाएर अप्रेसन चलाइएको डिएसपी बस्नेतले जानकारी दिए।

अप्रेसनका क्रममा वडा नम्बर १, २, ३ र ४ क्षेत्रबाट ७ जना, वडा नम्बर ५ को पर्स्याङ र हरिचोकबाट ५ जना तथा वडा नम्बर १६, १८ र १९ क्षेत्रबाट ११ जनालाई नियन्त्रणमा लिइएको उनले जनाए।

पक्राउ परेकामध्ये केही व्यक्तिहरु मादक पदार्थ तथा लागूऔषध (गाँजा) सेवन गरी होहल्ला गर्ने, झै–झगडा गर्ने तथा जुवाजन्य ‘तिन गोट्टी’ खेलाउने गतिविधिमा संलग्न रहेका थिए।

डिएसपी बस्नेतका अनुसार ३ जनाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाईएको छ।

त्यस्तै, मापसे तथा लापसे गरी होहल्ला र झै–झगडा गर्ने ७ जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।

मापसे गरेर हिँडिरहेका ७ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जनही एक हजार रुपैयाँ जरिवाना गरी छाडिएको छ र  ६ जनालाई आफन्तको जिम्मा लगाएर तारेखमा रिहा गरिएको डिएसपी बस्नेतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button