सुगम सङ्गीत यात्राको छैटौँ शृङ्खला दार्जिलिङमा सम्पन्न

पोखरा, १५ पौष –

पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको छैटौँ शृङ्खला दार्जिलिङमा सम्पन्न भएको छ ।

पोखराका तिन वटा साङ्गीतिक संस्थाहरु अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे. इ. म्युजिक एकेडेमीले मासिक रुपमा सञ्चालन गर्दै आएका कार्यक्रमको पुसको कार्यक्रम दार्जिलिङमा सम्पन्न भएको हो । घैयाबारी डाँडा समूहले दार्जिलिङको खर्साङअन्तरगत घैयाबारीमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ नागरिक कल्याण सङ्गठन, तिनधाराका अध्यक्ष स्कार गुरुङले दार्जिलिङमा रहेको नेपाली सङ्गीतको स्तरलाई अझै उकास्न कार्यक्रमले सघाउने विश्वास व्यक्त गर्नुभयो । नयाँ प्रविधिले अझै नेपाली सङ्गीतलाई उठाउने भन्दै उहाँले त्यसको सदुपयोग गर्नुपर्ने धारणा राख्नुभयो । नेपाली सङ्गीतका लागि महत्त्वपूर्ण योगदान दिएको दार्जिलिङमा सुगम सङ्गीत यात्रा गर्नुले यसमा थप टेवा पुगेको गुरुङको भनाइ थियो ।

स्थानीय समाजसेवी राजिन राईको अध्यक्षतामा भएको कार्यक्रममा नरेश राई र बिक्की गुरुङको एल्बम ‘सञ्जोग’को विमोचन पनि गरिएको थियो । सो अवसरमा नेपालबाट गएका रामभक्त जोजिजू, पशुपति गुप्ता, नरेश राई तथा दार्जिलिङकै कर्म मोक्तान, अमिर तामाङ, कुशल तामाङ, रुवी राई, नसिब राई, देविका क्षेत्री, सुनन्दा राईलगायतले आफ्ना साङ्गीतिक प्रस्तुती राखेका थिए । त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बरालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी र स्थानीय महेश क्षेत्रीले गर्नुभएको थियो ।

६ महिनाअघि पोखराको बाराही मन्दिरबाट सुरु भएको यात्रा पोखराका विभिन्न ठाउँ र तनहुँको आँबुखैरेनीमा सम्पन्न भएको थियो । देशबाहिर भने यो नै पहिलो यात्रा हो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button