प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पत्रकार भण्डारीलाई सम्मान गरिने

  • पोखरा न्यूज
  • २०७२ पौष २६
Post Thumbnail

पोखरा, २६ पौष –

प्रेस चौतारी कास्कीले सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०७१ बाट पत्रकार दुर्गा भण्डारीलाई सम्मान गरिने भएको छ ।

पत्रकारिताको माध्यमबाट प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक आन्दोलन र प्रेस चौतारीको संस्थागत विकासमा पुरयाएको योगदानको कदर गर्दै भण्डारीलाई सम्मान गर्ने निर्णय प्रेस चौतारी कास्कीले गरेको हो । पुरस्कारको राशी नगद ११ हजार १ सय ११, दोसल्ला र सम्मानपत्र रहेको छ ।

भण्डारीलाई उक्त पुरस्कारबाट सम्मान गर्न, प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतमा शनिबार बसेको बैठकले अनुमोदन गरेको हो ।प्रतिभा छनौट समितिको संयोजकमा कास्कीका संस्थापक कोषध्यक्ष खेम सारु, प्रेस चौतारी नेपाल तथा पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, प्रेस चौतारी कास्कीका सल्लाहकार तथा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पदेन सदस्यमा कास्कीका अध्यक्ष माधव बराल र सचिव अर्जुन गिरी रहनुभएको छ ।

भण्डारीले २०५२ सालदेखि काठमाडौंबाट प्रकाशित जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएको हो ।भण्डारी प्रेस चौतारी नेपालका पूर्व सचिव, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य र पोखराबाट प्रकाशित हुने कास्की सन्देश साप्ताहिकको सम्पादक हुनुहुन्छ । भण्डारीले पोखरा एफएम, माछापुछ्रे एफएम, पोखरा हट्लाइन दैनिक, पोखरापत्र दैनिक, सौर्य साप्ताहिक, माइक्रो न्यूज दैनिकमा पनि काम गर्नुभएको थियो ।

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यसअघि पुण्य पौडेल, माधव शर्मा, नवराज सुवेदी, रुद्रबहादुर थापा, हरि बाँस्तोला, बद्रीविनोद प्रतीक र खेम सारु सम्मानित भइसक्नु भएको छ।प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा आगामि माघ २२ गते भण्डारीलाई उक्त पुरस्कारबाट सम्मान गरिने सचिव अर्जुन गिरीले जानकारी दिनुभयो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस