पोखरा, ३१ बैशाख –
राप्रपा नेपालकी केन्द्रीय सदस्य तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन केन्द्रीय महासचिव सरस्वती अधिकारीले महिला हकहितका लागि राप्रपा नेपाल सधैं सकारात्मक ढंगले सधैं लडिरहने बताउनु भएको छ ।
राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल कास्कीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेतृ अधिकारीले अरु दलहरुले बोलेर मात्र टार्ने गर्छन् तर राप्रपा नेपालले ३३ प्रतिशत महिलाहरुको लागि सधैं सुनिश्चित गरेर समानुपातिक ढंगले व्यवस्थापन गरेर उदाहरणीय कार्य गरेको बताइन् । उनले राष्ट्र बचाउनको लागि अब महिलाहरु नै अगाडि बढेर विषम परिस्थितिमा गुज्रिरहेको देशलाई मार्ग प्रशस्त गर्नु आजको खाँचो रहेको बताइन् ।

कार्यक्रममा विशेष अतिथि बरिष्ठ केन्द्रीय सदस्य तथा आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्र बहादुर गुरुङ्ग, धौलागिरी संयोजक तथा केन्द्रीय सदस्य कुल बहादुर गुरुङ्ग कुलु, जिल्ला अध्यक्ष तथा पुन समाजका केन्द्रीय अध्यक्ष जयलाल पुन, क्षेत्रीय अध्यक्ष गीता गुरुङ्ग, सुशीला वाग्ले, मिना सुवेदी, सुष्मा त्रिपाठी लगायतले देश बचाउनको लागि अब महिलाको खाँचो भएको र सडकमा नारा मात्र लगाएर नहुने व्यवहार गरेर देखाउनुपर्ने कुरामा जोड दिएका थिए ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्की अध्यक्ष तेज कुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल कास्कीको नयाँ कार्यसमिति चयन गरिएको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बास्तोलाले जानकारी दिए ।
कृष्ण कुमारी सुवेदी अध्यक्ष रहेको संगठनको सहअध्यक्षमा डिलकुमारी गुरुङ्ग, उपाध्यक्षहरुमा गीता श्रेष्ठ, सुनिता देवकोटा, मिना सुवेदी, सचिवमा विष्णु कार्की, सहसचिवमा अनिता सुनार, कोषाध्यक्षमा कुलदीप गुरुङ्ग, सहकोषाध्यक्षमा निरु थापा लगायत ३३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
कार्यक्रमको संचालन जिल्ला सहसचिव रन्जना सेन पौडेलले गरेकी थिइन् भने कार्यक्रममा केन्द्रीय नेताहरु, जिल्लास्थित वडाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।





