पोखरा उद्योग वाणिज्य संघमा खैरहनी उवा संघको भ्रमण टोलीलाई स्वागत

पोखरा, १० जेठ –

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले अन्तराष्ट्रिय सहरको रुप लिन लागेको पोखरालाई सुहाउँदो पूर्वाधार निर्माणको लागि संघको मुख्य चासो र पैरवी रहेको प्रष्ट पार्नु भएको छ । उहाँले व्यवसायीको हकहितको अलावा सामाजिक र विकास अभियानमा हातेमालो गर्दै आएको संघका गतिविधीलाई अझ चुस्त बनाउने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणमा आएको चितवनको खैरहनी उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डलको स्वागतमा सोमबार आयोजित छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

‘पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणको थालनीपछि यो सहर अन्तराष्ट्रिय सहर बन्ने क्रममा छ र अन्तराष्ट्रिय सहरलाई चाहिने भौतिक पूर्वाधार निर्माणको लागि सरोकारवालालाई घच्चच्याउनु अहिलेको आवश्यकता भएको छ ।’–उहाँले भन्नुभयो । अध्यक्ष थापाले नेपालको निजी क्षेत्रको समान धारणाको विकास गराउने तथा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुबीच भाइचारा सम्बन्ध विकास गराउँदै एकअर्कालाई सघाउने अभियानलाई तिव्रता दिनुपर्नेमा समेत जोड दिनुभयो । पोखरा उद्योग वाणिज्य संघका गतिविधीबारे जानकारी गराउँदै उहाँले पोखरा र चितवनको खैरहनी उद्योग वाणिज्य संघबीच पर्यटकीय गतिविधी मार्फत सबन्ध बिस्तार गर्न सकिने प्रवल सम्भावना रहेको बताउनुभयो ।

खैरहनी उद्योग वाणिज्य संघ चितवनको प्रसिद्ध पर्यटकीय क्षेत्र सौराहा र राप्ती नदी क्षेत्रको उद्योग वाणिज्य संघ हो । २०७१ सालमा सरकारले सो क्षेत्रलाई नगरपालिका घोषणा गरेपछि खैरहनीले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता प्राप्त गरेको हो ।

कार्यक्रममा बोल्दै खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठले पुराना उद्योग वाणिज्य संघहरुको भ्रमणबाट सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने उदेश्यका साथ भ्रमणमा निस्केको टोलीले पोखराबाट धेरै कुरा सिकेको बताउनुभयो । पोखरा र सौराहालाई जोडेर पर्यटनको क्षेत्रमा गर्न सकिने थुृप्रै कामहरु भएको चर्चा गर्दै उहाँले सो क्षेत्रमा होमस्टे र जंगल सफारी पर्यटनको ठूलो सम्भावना रहेको चर्चा गर्नुभयो । माछा पालन, ह्याचरी उद्योग तथा अन्य ठूला उद्योगहरुको प्रचुर सम्भावना रहेको खैरहनी क्षेत्रलाई देशकै मुख्य आर्थिक केन्द्र बनाउने आफ्नो अभियान भएको उहाँको भनाई थियो ।

खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकालले स्थानीय सरकारको रुपमा नगरपालिकाले उद्योग वाणिज्य संघसँग विविध कार्यमा सहकार्य गर्दै आएको जानकारी गराउनुभयो । पोखरा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष मीनराज काफ्लेको धन्यवाद र महासचिव रवीन्द्रबहादुर प्रजुको धन्यवाद रहेको कार्यक्रममा खैरहनी उद्योग वाणिज्य संघका महासचिव शेषकुमारी ओली, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सीता गुरुङ, खैरहनीका कार्यसमिति सदस्यहरु शशी खनिया, लक्ष्मण निरौलालगायतले उद्योग वाणिज्य संघका गतिविधी एवं सहकार्य गर्न सकिने विविध पक्षमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button