वर्षायाम अगावै खाद्यान्न ढुवानी

पोखरा, १५ जेठ –

नेपाल खाद्य संस्थान अञ्चल कार्यालय पोखराले गण्डकी र द्यौलागिरि अञ्चलका दुर्गम ठाउँमा वर्षायाम अगावै खाद्यान्न ढुवानी गरेको छ ।

कार्यालयको माग अनुसार मुस्ताङमा ७८२ क्विन्टल, गोरखाको सिर्दीवासमा ९५३ र माछाखोलामा ५१८ क्विन्टल खाद्यान्न ढुवानी गरिसकेको अञ्चल प्रबन्धक अम्बिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । मनाङमा गतवर्ष पठाइएको खाद्यान्न नै सञ्चित रहेको छ ।

अञ्चल कार्यालयको गोदाममा एक हजार ४१९ क्विन्टल खाद्यान्न मौज्दात रहेकोले अभाव हुने ठाउँमा तुरुन्त पठाउन सकिने बताइएको छ । बागलुङ र पर्वतका भूकम्पपीडितलाई सहयोग गर्न बङ्गलादेशबाट आएको ५०० क्विन्टल चामल अञ्चल कार्यालयको गोदाममा राखिएको र सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयको सिफारिस आएमा उक्त खाद्यान्न पठाइने प्रबन्धक घिमिरेले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button